काठमाडौँ, १ भदौ । काभ्रेपलाञ्चोकको बिर्ता देउराली–९ कोसीपारि सडकमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त र व्यवसायीबीच क्षतिपूर्तिबारे सहमति भएपछि पीडितले शव बुझेका छन् ।
क्षतिपूर्तिबारे मङ्गलबार दिनभर अरनिको यातायात समितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र पीडितपक्षबीच धुलिखेलमा छलफल भएपनि क्षतिपूर्तिको कुरा मिलेको थिएन ।
आज बिहान भएको छलफलमा तेस्रो पक्ष बिमाबाहेक समितिको तर्फबाट पीडितलाई किरियाखर्चवापत रु एक÷एक लाख दिने मौखिक सहमतिपछि पीडितका आफन्तले शव बुझेको छलफलमा सहभागी सांसद तीर्थ लामाले जानकारी दिनुभयो ।
मृतकका आफन्तले तेस्रो पक्ष बिमाबाहेक आफूहरूले समितिको तर्फबाट थप एक÷एक लाख क्षतिपूर्ति पाउनुपर्ने माग राखेपनि समितिले स्पष्ट उत्तर नदिँदा मङ्गलबार सहमति हुन सकेको थिएन ।
समितिका अध्यक्ष जितबहादुर भारतीले भने पीडितलाई समितिको तर्फबाट एक÷ लाख दिने सहमति नभएको दाबी गर्नुभयो ।
अध्यक्ष भारतीले भन्नुभयो, “उहाँहरुले पाउने क्षतिपूर्ति नियमानुसार पाउनुहुन्छ, समितिको तर्फबाट थप केही दिन सकिँदैन ।
छलफलका क्रममा उक्त रुटमा चल्ने सवारीले क्षमताभन्दा बढी यात्रु नबोक्ने, यात्रुवाहक बसले सामान ढुवानी गर्न नपाउनेलगायत सहमति भएको सांसद लामाको भनाइ छ ।
चालकको चालक अनुमितपत्र सक्कली
यसैबीच दुर्घटना गराउने बसका चालकको चालक अनुमतिपत्र नक्कली नभएको निक्र्योल भएको छ । दुर्घटनाग्रस्त २ ख १०६ नंको बस चालक चिन्तामणि गौतमको ०६–२१३४२९ नं.को सवारी चालक अनुमितपत्र यातायात व्यवस्था कार्यालयको अभिलेखमा भिडाउँदा सक्कली नै भएको भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको सामूहिक दाहसंस्कार
उक्त दुर्घटनामा ज्यान गुमाएकाको आजै आ–आफ्नो धार्मिक संस्कारअनुसार दाहसंस्कार गरिएको छ ।
हिन्दु धर्मावलम्बीको पशुपति आर्यघाटमा, बौद्ध धर्मावलम्बीको स्वयम्भूमा, दुईजनाको इसाई परम्परा र रामेछापका दुईजनाको रामेछापमै आ–आफ्नो धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको आफन्तले जानकारी दिएका छन् ।
मृतकको शव सम्बन्धित गाउँमै लैजान बढी खर्च र बाटोको समस्याका कारण काठमाडौँमै दाहसंस्कार गरिएको मृतकका आफन्त विक्रमदास दमाईले जानकारी दिनुभयो ।
दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए । कात्तिके देउराली गाविसका ११, मादनकँडारीका नौ, गोठपानीका दुई, मेच्छेपौवा, बिर्तादेउराली र पोखरीचौरी रामेछापको गुन्सी भदौरे र लखनपुर गाविसका एक÷एक जनाको ज्यान गएको थियो ।
“व्यवसायीको सिन्डिकेटविरुद्ध आन्दोलन गछौँ”
मुलुकका विभिन्न ठाउँमा हुने सवारीको दुर्घटनाको कारणमध्ये सिन्डिकेट मुख्य कारण भएको भन्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले सिन्डिकेटविरुद्ध आन्दोलन गर्ने घोषणा गरेको छ ।
काभ्रे दुर्घटनापछि अनेरास्ववियुका अध्यक्ष नविना लामाल रासससँग भन्नुभयो, “सीमित व्यक्तिको स्वार्थका कारण निहत्था जनताले ज्यान गुमाउनुपरेको छ, हामी यसविरुद्ध आन्दोलन सुरु गछौँ ।”
सिन्डिकेट हटाउन माग गर्दै बिहीबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । रासस
No related posts.
No comments:
Post a Comment