Wednesday, August 10, 2016

सुकुम्बासी समस्या समाधानमा जोड

काठमाडौँ, २७ साउन । राष्ट्रिय सहमति कायम गरेर भूमि व्यवस्थापन र सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी सङ्घले बुधबार आयोजना गरेको ‘नेपाली भूमि व्यवस्थापन र सुकुम्बासी समस्या’ विषयक अन्तक्र्रिया विभिन्न दलका नेताले मुलुकमा रहेका सुकुम्बासीको पहिचान सरकारले गर्न नसकेका कारण समस्या जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

भूमि तथा सुकुम्बासीका जानकार तथा नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष केशव बडालले भूमिसुधार आयोगको नेतृत्व समालेको बेला आफूले भूमिसुधार तथा सुकुम्बासी समस्या समाधान गर्न खोजेको बताउँदै तत्कालीन सरकार चाँडै परिवर्तन भएकाले समाधान हुन नसकेको बताउनुभयो ।

उहाँले राज्यले जमिनभन्दा पनि नागरिकप्रति जवाफदेही हुनुपर्ने विचार व्यक्त गर्दै राज्य जवाफदेही नबनेका कारण सुकुम्बासी समस्या एक पछि अर्को समस्या बन्दै गएको बताउनुभयो ।

नेकपा माओवादीका पोलिटब्युरो सदस्य सन्तोष बुढा मगरले सरकारमा पुगेका राजनीतिक पार्टीका नेताहरुले सुकुम्बासी समस्यालाई गम्भीरताका साथ नलिएको बताउँदै जमिनमा भूमिहीनहरुको स्वामित्व हुनुपर्ने बताउनुभयो ।

नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सचिवालय स्थायी समिति सदस्य रामसिंह श्रीषले सरकारमा पुगेका राजनीतिक पार्टीले सामन्ती संरचना तोड्न नचाहेकाले सुकुम्बासीको समस्या झन्झन् विकराल बन्दै गएको विचार राख्नुभयो ।

नेपाल सुकुम्बासी पार्टीका अध्यक्ष हुकुमसिंह लामाले राजनीतिक पार्टीका नेताहरुले चुनावको बेलामा मात्र सुकुम्बासीको कुरा गर्ने तर सत्तामा पुगेपछि भुल्ने प्रवृत्तिले सुकुम्बासीको समस्या समाधान हुन नसकेको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि दीपेन्द्र सिंहले राज्यका नागरिकको बस्न पाउनुपर्ने पहिलो अधिकार भएको बताउँदै सुकुम्बासीको विषयमा मानवअधिकार आयोगले दिएको निर्देशन नै सरकारले नमान्दा समस्या बढेर गएको धारणा राख्नुभयो । रासस कृष्णराज

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts