Monday, August 29, 2016

भेटी सङ्कलन गरेर असहायका लागि रु एक लाख सहयोग

चितवन, १३ भदौ । जापानमा बस्दै आउनुभएका चितवन भरतपुरका एक युवाले भगवान्को मन्दिरमा वर्षभरि चढाएको भेटी सङ्कलन गरेर असहायका लागि सहयोग गर्नुभएको छ ।

उहाँ आफैँले मन्दिरमा चढाएको वर्षभरिको पैसा सङ्कलन गरेर रु एक लाख एक हजार मानवसेवा आश्रम चितवनमा रहेका असहायका लागि सहयोग गर्नुभएको आश्रमका अभियन्ता सुमन बर्ताैलाले जानकारी दिनुभयो ।

भरतपुर १५ स्थायी घर भई हाल जापानमा बस्दै आउनुभएका सञ्जय चालिसेले यसरी परोपकारी काममा सहयोग गर्नुभएको हो ।

उहाँका आमा बुबा शोभा चालिसे र गुणा चालिसेले आश्रममै आएर उक्त रकम उपलब्ध गराउनुभएको हो ।

वर्षभरि पूजा गर्दा चढाएको पैसा सङ्कलन गर्दा रु एक लाख एक हजार जम्मा भएकाले सोही रकम उपलब्ध गराइएको जनाइएको छ ।

चितवनको भरतपुरमा रहेको मानवसेवा आश्रममा असहाय, मानसिक सन्तुलन बिग्रिएका, अपाङ्ग जो सडकपेटिमा कष्टकर जीवन गुजार्दै आएका र आफ्नै घरमा समेत बाँधिएर बस्न बाध्यलाई उद्धार गरी राखिएको छ ।

यहाँ अहिले ४७ जना यस्ता असहायले आश्रय पाइरहेका छन् । मानवसेवा आश्रमले चितवन, मकवानपुर र काठमाडाँैमा सेवा दिँदै आइरहेको छ ।

सडकमा कष्टकर जीवन गुजार्नुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा आश्रम लागि परेको संयोजक रामजी अधिकारीले जानकारी दिनुभयो । आश्रम यस्तै नेपाली सहयोगीको सहयोगबाट सञ्चालित छ ।

केही वर्षको अन्तरालमा सडकपेटिमा भेटिएका झन्डै ५०० असहायको उद्धार गरी १०० भन्दा बढीलाई परिवारमा पुनर्मिलन गराइसकेको आश्रमले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts