मुस्ताङ, १३ भदौ । लोमान्थाङ आमा समूहले सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।
करिब रु २० लाखको लागतमा ५०० क्षमताको हलसहितको भवन निर्माण गरिएको हो । चीन सरकारको सहयोगमा रु आठ लाख बराबरको निर्माण सामग्री, जिल्ला विकास समिति मुस्ताङको रु पाँच लाख सहयोग र सात आमा समूहको आन्तरिक कोषबाट गरी रु २० लाखको लागतमा भवन निर्माण गरिएको लोमान्थाङ आमा समूहकी अध्यक्ष छिमी विष्टले जानकारी दिनुभयो ।
“हामीले लामो समयदेखि यो आफ्नै भवन होस् भनेर पैसा पनि जम्मा गर्दै आएका थियौँ, सबैको सहयोगमा आज बल्ल यो बनाउन सफल भएका छौँ”, उहाँले भन्नुभयो, “विभिन्न किसिमका कार्यक्रम गर्न अब सजिलो भएको छ ।” माटोको सहर भनेर चिनिने लोमान्थाङ जाने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत तथा सम्मान जस्ता कार्यक्रम गर्न सार्वजनिकस्थल नहुँदा आमा समूहले समस्या भोग्नुपरेको थियो ।
लोमान्थाङ गाविसमा पर्ने लोमान्थाङमा आठ वटा वडा पर्छ । हरेक वडामा आमा समूह क्रियाशील छ । सबैको प्रतिनिधित्व हुने गरी लोमान्थाङ आमा समूहको गठन गरिएको हो । समूहले लोमान्थाङमा सरसफाइदेखि अन्य निरन्तर रुपमा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । रासस
No comments:
Post a Comment