त्रिशूली(नुवाकोट), ६ भदौ । रसुवाका भूकम्पपीडितले लालपुर्जा नभएका कारण घर निर्माण अनुदान सम्झौता नभएकाले सम्झौता गर्न र विस्थापितलाई पुनःस्थापित गराउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
नुवाकोट र रसुवाका लागि स्थापित प्राधिकरणको उपक्षेत्रीय कार्यालय सदरमुकाम विदुरमा राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल रसुवा शाखाको नेतृत्वमा आएका भूकम्पपीडितले आज ज्ञापनपत्र बुझाएका हुन् ।
प्राधिकरणका उपक्षेत्रीय कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटालाई ज्ञापनपत्र दिँदै भूकम्पपीडितले रसुवाका हाकु र डाँडागाउँबाट भूकम्पको कारण विस्थापित भएर लहरेपौवाको बोगटीटार, नौबिसे लगायत क्षेत्रमा महंँगोमा अर्काका जग्गामा भाडा तिरेर बस्न बाध्य भएकाले उनीहरुको पुनःस्थापना गराउन प्राधिकरणल पहल गर्न माग गरेका छन् । विस्थापितलाई बसोबासयोग्य जमीनको व्यवस्था गरी सुरक्षित पुनःनिर्माणको प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
रसुवाको हाकु गाविसका वडा नं २ देखि ७ सम्म सात वटा वडाका तीन सय ६६ परिवार बस्दै आएको जग्गा स्वयम्भू घ्याङ गुठीका नाममा रहेकाले उनीहरुको अनुदान सम्झौता गराउनमा माग गरेका छन् । सरकारको प्राविधिक टोलीले भत्केको घरको थुप्रो हेरेर पत्र दिएको र लाभग्राहीका सूचीमा नाम निस्किँदा पनि अनुदान सम्झौताका लागि लालपुर्जा खोज्नाले सरकारी निकायले पीडितलाई झनै पीडित बनाएको मञ्चका केन्द्रीय सदस्य भूमिअधिकारकर्मी भवानीप्रसाद न्यौपानेले बताउनुभयो । “गुठीको जग्गा छ पुस्तौँदेखि कमाएको छ, लालपुर्जा छैन, अहिले कहाँबाट ल्याउने ?” न्यौपानेले भन्नुभयोे “जोतभोगको आधारमा लालपुर्जा दिलाउन पनि प्राधिकरणले भूमिका खेल्नुपर्छ ।”
ज्ञापनपत्र बुझेपछि कार्यालयका प्रमुख सापकोटाले ज्ञापनपत्र तत्काल केन्द्रमा पठाइने जानकारी दिँदै गुठी र बिर्ता जग्गामा बस्दै आएकाहरुका लागि कार्यविधि बन्दै गरेकाले उनीहरुको समस्या छिट्टै समाधान हुने बताउनुभयो । उहाँले अग्रभागमा रहेर काम गर्ने स्रोतसाधन पर्याप्त भएका जिविस र जिल्ला आयोजना कार्यान्वयन एकाइलाई घच्घच्याउन पनि आग्रह गर्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment