गोरखा, १८ साउन । विसं २०३५ अघि गोरखामा सडक थिएन । सर्वसाधारण नुन लिन चितवनको थोरी धाउँथे । बलियाले पाँच पाथीसम्म नुन ल्याउथे, निर्धोले एक÷दुई पाथी मात्र । नुन बोक्दाको दुःख भन्दा सरकारले दिएको अनुदान रकम लिन सदरमुकामस्थित बैंकमा आउँदा खेप्नुपरेको सास्ती अत्यधिक छ ।
सौरपानी गाविस– ४ की ७३ वर्षीया जुना सार्की सदरमुकामस्थित प्रभु बैंकमा अनुदान झिक्ने प्रतिक्षामा तीन दिनदेखि सडकमै बास बस्दै आएको बताउनुहुन्छ । “टहरामा बस्दै आएकी छु, बुढेसकालमा कसरी घर उभ्याउने रु,” उहाँले भन्नुभयो । जुना मात्रै होइन घर बनाउन अनुदान रकम लिन आएका सुकमाया सार्की, साने सार्की, रामबहादुर नेपालीसहित ३०० भन्दा बढीको समस्या उस्तै रहेको छ ।
साने र रामबहादुरले गएको तीन रात सडकको फुटपाथमै बिताउनुभयो । “होटलमा खाँदा बस्दा ऋण गरेको पैसा सकियो, बैंकले अझै पैसो दिएको छैन,” सानेले भन्नुभयो । भूकम्पका बेला नपाएको दुःख बैंक धाउँदा खेप्नुपरेको उहाँको भनाइ छ । सरकारले बैंक खाता खोलेर भूकम्पपीडित लाभग्राहीलाई तीन किस्तामा घर बनाउने प्रयोजनका लागि अनुदान रकम दिने व्यवस्था गरेपनि गाउँमा बैंकको पहुँच नहुँदा बर्खाका बेला भूकम्पपीडित वृद्धवृद्धाले सास्ती खेप्नुपरेको हो ।
भूकम्पको केन्द्रविन्दु बारपाकका भूकम्पपीडित अनुदान रकम लिन सदरमुकामस्थित मनास्लु विकास बैंँक धाउँदै आएका छन् । जिल्लाका एक हजार १३७ लाभग्राहीमध्ये आधाले पहिलो किस्ताको रु ५० हजार झिकेर लगिसकेको बैंँक स्रोतले जानकारी दियो । जनशक्ति कम भएको, सुरक्षाको कारणले गर्दा पैसा बोकेर गाउँ जान नसकिएको समस्या देखाएर बैंक गाउँ नगएपछि भूकम्पपीडित गाउँले सदरमुकाम ओइरिएका हुन् ।
स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्य भूकम्पपीडितले दुःख पाएको भन्दै बैंकलाई जसरी पनि गाउँमा पठाउने बताउनुहुन्छ । शाखारहित बैंकलाई गाउँमा पठाएर अनुदान वितरणको व्यवस्था मिलाइने आचार्यको भनाइ छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सिर्दिवासमाथिका सात गाविसमा हेलिकप्टरमार्फत् अनुदान रकम लगेर वितरण गर्ने योजना बनाइएको भए पनि कार्यान्वयनमा ल्याउन नसकिएको बताउनुभयो । जिल्लामा ५८ हजार ३०० लाभग्राहीको सूची प्रकाशित भएको छ भने ४८ हजार घरधुरीसँग अनुदान सम्झौता भइसकेको बताइएको छ । रासस
No related posts.
No comments:
Post a Comment