बनेपा, १८ साउन । काभ्रेपलाञ्चोकको धुसेनी शिवालय गाविस वडा नं ६ र ७ का १९ घर पहिराको उच्च जोखिममा परेकाले स्थानान्तरण हुने भएका छन् ।
स्थानीय विकास अधिकारी रामकृष्ण उप्रेतीले सो गाविसको वडा नं ६ मा १० घर र वडा नं ७ मा ९ घर पहिराको उच्च जोखिममा परेकाले उनीहरुलाई स्थानान्तरण गर्न लागिएको हो । “उहाँहरुले बसेको स्थान छाड्न मानिरहनुभएको छैन तर पछि हामीले मानवीय क्षतिको कुरा बुझाएपछि सुरक्षित स्थानमा स्थानान्तरण हुन सहमत हुनुभएको छ” उहाँले भन्नुभयो ।
स्थानान्तरणका लागि विस्थापित परिवारलाई कारितास नामक गैरसरकारी संस्थाले जस्ता पाता वितरण गर्ने र जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीले त्रिपाल लगायत भौतिक सामग्री प्रदान गर्नेछ ।
स्थानीय विकास अधिकारी उप्रेतीले जिल्ला दैवीप्रकोप उद्धार समितिले विस्थापित परिवारलाई प्रतिघरपरिवार रु पाँच हजारका दरले आर्थिक सहयोग उपलब्ध गराउने र उनीहरुलाई प्रतिघर परिवार दुई बन्डलजस्ता पाता उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
उहाँले जिल्लाको पोखरीचौरी गाविसका वडा नं ५, ७ र ९ का करिब १०६ घर पनि पहिराको जोखिममा परेकाले स्थानान्तरण गर्ने तयारी भएको बताउनुभयो । “भूकम्प गएपछि धाँजा फाटेकाले बस्ती नै स्थानान्तरण भइसकेको थियो तर पुनः उहाँहरु आफ्नै ठाउँमा गएर बस्नुभएको थियो, वर्षाका कारण जोखिम बढेको छ”, उप्रेतीले भन्नुभयो । ती गाविसमध्ये वडा नं ९ स्थित खारबस्ती पहिराको उच्च जोखिममा रहेको छ । रासस
No related posts.
No comments:
Post a Comment