Monday, August 1, 2016

सहिद पन्तको स्मृति दिवस मनाइयो

डडेल्धुरा, १८ साउन । शोषकका विरुद्धमा सङ्घर्ष गर्दै सहिद भएका सुदूरपश्चिमका क्रान्तिकारी किसान नेता भीमदत्त पन्तको जन्मथलो डडेल्धुरामा सोमबार ६४औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइयो ।

सामान्य घरपरिवारमा जन्मिएका पन्तले २६÷२७ वर्षकै उमेरमा राणाशासन र सामन्तको अत्याचारबाट पिल्सिएका जनतालाई मुक्ति दिन ‘कि त जोत हलो, कि त छोड थलो हैन भने छैन अब भलो’ भनेर शोषक र शासकलाई चुनौती दिँदै सामाजिक आर्थिक र राजनीतिक रुपान्तरणका लागि आन्दोलन थालेकामा उनलाई देशद्रोही भन्दै २०१० साउन १७ गते तत्कालीन सरकारले निर्ममतापूर्वक हत्या गरेको थियो ।

अन्याय अत्याचार, शोषण, सामन्ती थिचोमिचोबाट उत्पीडित समाजलाई भेद्भाव, छुवाछुतरहित जातपातको सामाजिक कूरीति, रुढीवादी र अन्धविश्वास परम्पराविरुद्ध जनतालाई चेतनशील बनाउन उनले गरेका ठूलाठूला काम विरुद्ध जेलको कठोर यातना पाएर पनि जनताको समृद्धिका लागि शिक्षा, स्वास्थ्य जस्ता मौलिक अधिकार, मानवीय व्यवहारमा समानता र पहुँच, भूमि स्वामित्वलगायत स्वतन्त्रताका पक्षमा लड्दालड्दै उनले मृत्युवरण गरेको सोमबार ६४ वर्ष बितिसक्दा पनि राज्यले भीमदत्तको बलिदानीको सम्मान गर्न नसकेकोमा सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद भट्टले दुःख व्यक्त गर्नुभएको छ ।

स्मृति दिवसको उपलक्ष्यमा पन्तको सम्मान र सम्झनामा यहाँको बागबजारमा रहेको भीमदत्तको सालिकमा बिहान माल्यार्पण गरिनुका साथै उपक्षेत्रीय अस्पतालका बिरामीलाई फलफूल पनि वितरण गरियो ।

‘नेपाली क्रान्ति र सहिद भीमदत्त पन्त’ विषयक अन्तक्र्रिया, उत्कृष्ट किसानलाई अभिनन्दन तथा बेलुका सहिदको सालिकमा दीपप्रज्वलनलगायत विविध कार्यक्रम गरी स्मृति दिवस मनाइएको छ ।

स्मृतिमा कृषकलाई सम्मान

पन्तको ६४औँ स्मृति दिवसको अवसरमा डडेल्धुरा जिल्लाका छ जना किसानलाई सम्मान गरिएको छ । डडेल्धुरा जिल्लाका छ कृषकलाई सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानले सम्मान गरेको जानकारी प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद भट्टले बताउनुभयो ।

स्मृति दिवसको उपलक्ष्यमा सम्मानित हुनेमा परशुराम नगरपालिका–४ कटालका ग्रामीण कृषि कार्यकर्ता गोपाल पाण्डेय, अमरगढी नगरपालिका–१ भेटाका व्यावसायिक किबी खेती गर्दै आएका गणेश ऐर र बगरकोट–५ सिराडका व्यावसायिकरुपमा सुन्तला खेती तथा देवराज सुन्तला नर्सरी चलाउँदै आएका देवराज महता सम्मानित भएका हुन् ।

यसैगरी, पशुपालनतर्फ असिग्राम गाविस–३ साहुखर्कका गड्डी भैँसीपालन र संरक्षण गर्दै आएका शेरबहादुर देउवा (खीरबाजे), चिपुर गाविस–५ चौडीका व्यावसायिक बाख्रापालन गर्दै आएका वासुदेव बोहरा र परशुराम नगरपालिका–१२ मा जर्सी गाईपालन गर्दै आएका सुमन धामी पनि सम्मानित भए ।

सम्मानित हुने सबैलाई दोसल्ला ओढाइ प्रशंसा पत्र र नगद रु दुई हजार प्रदान गरिएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष भट्टले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts