काठमाडौँ, २४ साउन । चन्द्रगिरि नगरपालिका– ६ स्थित भालेश्वर महादेव मन्दिरको आज प्राणप्रतिष्ठान गरिएको छ ।
ऐतिहासिक रुपमा महत्व बोकेको मन्दिरको निर्माण भएपछि स्थानीयवासीको सहभागितामा समाजसेवी मीनबहादुर श्रेष्ठले होम तथा हवन गर्नुभएको हो । वरिष्ठ इन्जिनियर तथा आर्किटेक्ट शङ्करनाथ रिमाल, पूर्वप्रधान सेनापति छत्रमान गुरङलगायतको सहभागितामा प्राणप्रतिष्ठा भएको थियो । मन्दिरको डिजाइन इन्जिनियर रिमालले नै गर्नुभएको हो ।
समुद्र मन्थनपछि निस्केको कालकुट विष महादेवले सेवन गरेपछि डाह भई उत्तरापन्थ लाग्दा महादेवले त्यहाँ पाइला टेकेको किंवदन्ती छ । चन्द्रगिरि डाँडामा रहेको त्यस महादेवको मूर्ति यसअघि खुला थियो । मन्दिर करिब छ सय २५ वर्गमिटरमा फैलिएको छ ।
नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद जैसीले नगरपालिकाको पहिचानका रुपमा उक्त स्थानको महत्व रहेको बताउँदै त्यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्नेमा जोड दिनुभयो । काठमाडौँबाट करिव १० किमी दक्षिणतर्फ अवस्थित त्यस मन्दिरमा दर्शन गरेमा मनोकामना सिद्ध हुने विश्वास छ ।
केवलकार परीक्षण
चन्द्रागिरि हिल्स प्रालिले थानकोटमा निर्माण गरेको केवलकार आजै परीक्षणका रूपमा सञ्चालन भएको छ । त्यस क्षेत्रका बासिन्दा तथा त्यहाँ आउने आगन्तुकलाई आज निःशुल्क केवलकार चढ्नका लागि सुविधा उपलब्ध गराइएको थियो ।
एउटा कारमा आठ जना सवार हुन सक्ने व्यवस्था मिलाइएको छ । उक्त दूरीसम्म जान र आउनका लागि प्रतिव्यक्ति रु ७०० मूल्य तय गरिएको छ । उक्त दूरी जान १४ मिनेट लाग्छ । देशका ख्यातिप्राप्त विभिन्न उद्यमीको संलग्नतामा करिब दुई वर्षदेखि निर्माण गर्न लागिएको केवलकार निर्माणको प्रक्रिया केही हप्ता अगाडि सकिएको थियो । रासस
––––––
No related posts.
No comments:
Post a Comment