इनरुवा, १९ साउन । सुनसरी घुस्की गाविस–७ सुकुम्बासी टोलका परवेज खाँलाई साँझ र बिहानको छाक कसरी टार्ने भन्ने समस्याले पिरोलेको छ ।
सुकुम्बासी भएकाले ऐलानी जमिनमा घर बनाई बस्दै आएका खाँलाई १० दिनअघि आएको बाढीले घर डुबानमा पारेपछि यो समस्याले पिरोलेको हो ।
आकाशमुनिको बास भएपछि आफूसहित आठ सदस्यीय परिवार १० दिनदेखि भोकै र केही गैरसरकारी संस्थाको राहत खाँदै बाँचेको उहाँले बताउनुभयो । आशैआशमा १० दिन बिते पनि अहिलेसम्म सरकारी राहत नपाएको उहाँको गुनासो छ ।
खाँ मात्र नभई घुस्कीकै अर्का स्थानीय जमिल अन्सारीको समेत बाढीले लाखौँको क्षति भयो । उहाँले पनि कुनै पाउनुभएको छैन ।
जिल्लाका विभिन्न नदी खोलामा आएको बाढीका कारण उठिवास भएकाहरुले विभिन्न गैससबाट राहत सहयोग थोरै राहत पाए पनि सरकारीस्तरबाट कुनै राहत सहयोग नआएको गुनासो गरेका छन् ।
रामनगर भुटाहाका बाढीपीडितले पनि अहिलेसम्म सरकारीस्तरबाट कुनै राहत नपाएको पीडित समीम अन्सारीको भनाइ छ । बाढीका कारण रामनगर भुटाहा, देवानगन्ज, बबिया, वसन्तपुर, अमडुवा, साहेवगन्ज, कप्तानगन्ज, गौतमपुर, छिटाहा, तनमुना, सिमरीयालगायतका एक दर्जन गाविसका करिब एक हजार ५०० घरपरिवार प्रभावित भएका छन् । राजनीतिक दलकातर्फबाट नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी र नेपाली काँगे्रस सुनसरीले घुस्कीसहितका केही गाविसका बाढीपीडितलाई राहत वितरण गरेको छ ।
बाढी गएको भोलिपल्ट माओवादी केन्द्र र तीन दिनपछि फोरमले तथा एक हप्तापछि सद्भावना र काँग्रेसका केन्द्रीय सदस्य गगन थापाको नेतृत्वमा आएको टोलीले घुस्कीका १५० बाढीपीडित परिवारलाई राहत वितरण गरेको थियो ।
जिप्रका सुनसरीले केही घरपरिवारलाई राहत वितरण गरेको भए पनि पूर्णरुपमा अहिलेसम्म राहत वितरण नगरेको उद्योग वाणिज्य सङ्घ इनरुवाका अध्यक्ष प्रमोद आर्चायले बताउनुभयो । प्रशासनले नजिक र सुक्खा ठाउँमा रहेका बाढीपीडितलाई राहत वितरण गरेको तर पूर्णरुपमा प्रभावित ठाउँमा अहिलेसम्म राहत वितरण नगरेको बबियाका बंशी खत्वेले गुनासो गर्नुभयो ।
यता सुनसरीका प्रजिअ मोहनबहादुर चापागार्इंले राहत वितरण गर्ने कार्य जारी रहेको र जिप्रका सुनसरीमा आएको तथ्याङ्कअनुसार राहत वितरण गर्ने कार्य गरिरहेको बताउनुभएको छ । रासस
No related posts.
No comments:
Post a Comment