काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नौ महिने सरकारको अन्तिम दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो कार्यकालको समीक्षा गरेको छ ।
मन्त्रालयमा आज मन्त्री तथा राज्यमन्त्रीलाई बिदाई गर्न आयोजित कार्यक्रममा यस अवधिमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारलगायत काम महत्वपूर्ण भएको समीक्षा गरिएको हो ।
सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नौ महिनाको कार्यकालमा आफूले दिनरात राम्रो गर्ने प्रयास गरेको बताउनुभयो ।
नेपालको धर्म, संस्कृति, साहित्य, हवाई क्षेत्रजस्तो मुलुकको आर्थिक विकाससँग जोडिएको मन्त्रालय भएको हुँदा आफूले सबै क्षेत्रको विकासमा सक्दो प्रयास गरेको र आफ्नो कार्यकालमा चीनमा रहेको जहाज र दुईवटा ‘वाइड वडी’ जहाज ल्याउने सपना भने अधुरो भएको मन्त्री पोखरेलको भनाइ थियो ।
राज्यमन्त्री बलबहादुर महतले आफूले नौ महिने कार्यकालमा आठ महिनामात्र काम गर्ने मौका पाएको र राम्रो गर्ने प्रयासमा बाहिरिएको अनुभव सुनाउनुभयो ।
मन्त्रालयका सचिव प्रेमकुमार राईसहित मन्त्रालयका कर्मचारीले मायाको चिनोसहित मन्त्री पोखरेल र महतलाई बिदाइ गर्नुभएको थियो ।
यसैबीच, २५६० औँ बुद्ध जयन्तीका अवसरमा आयोजना गरिएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा सहयोग गर्ने स्वदेशी तथा विदेशी सबैलाई आज धन्यवाद ज्ञापन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ५०१ मूल समारोह समिति र मन्त्री पोखरेलको संयोजकत्वमा रहेको १०१ कार्यसमिति पनि विघटन गरिएको छ ।
आज यहाँ आयोजित समापन समारोहमा मन्त्री पोखरेलले मूल समारोह समिति र कार्यसमिति विघटन भएको घोषणा गर्दै लुम्बिनीलाई बुद्ध जन्मिएको ऐतिहासिक थलोका रुपमा विकास गर्न र बुद्ध दर्शनको मुहान नेपाल हो भनेर विश्वलाई चिनाउन र २३ देशबीच अन्तर्राष्ट्रिय बुद्धिस्ट फोरम गठन गर्न सफल भएको बताउनुभयो ।
साथै, नौ महिने सरकारको अन्तिम दिन मन्त्री पोखरेलले अन्तर्राष्ट्रिय विमानस्थलको समेत अनुगमन गरी आफूले सक्दो सुधार गर्ने प्रयास गरेको र अहिले निकै सुधार भएकाप्रति खुसी व्यक्त गर्नुभयो ।
अनुगमनपछि पत्रकारसँग कुरा गर्दै मन्त्री पोखरेलले विमानस्थलको सुन्दरता, सरसफाइ र यात्रुप्रतिको कर्मचारीको व्यवहारमा सुधार आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । रासस
No related posts.
No comments:
Post a Comment