Monday, August 1, 2016

संविधान कार्यान्वयनमा चुनौती थपियोः प्रधानमन्त्री ओली

काठमाडौँ, १७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक धु्रवीकरणले संविधान कार्यान्वयनमा चुनौती थपिएको बताउनुभएको छ ।

वामपन्थी नेता तुल्सीलाल अमात्यको १९ औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘संविधान कार्यन्वयनका चुनौतीहरु’ विषयको गोष्ठीमा उहाँले अहिलेको राजनीतिक घटनाक्रमले संविधान कार्यान्वयनमा जटिलता थपेको बताउनुभयो ।

संविधान कार्यान्वयन हुन नदिन धेरै शक्ति लागि रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई बर्बादीतिर जान नदिन जटिलताका माझ पनि संविधान कार्यान्वयन गरेरै छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नेकपा (एमाले)ले संविधान कार्यान्वयन गराएरै छाड्छ ।” उहाँले संविधानमा केही कमजोरी भए पनि देशका निम्ति संविधान बनाइएको चर्चा गर्नुभयो ।

प्रधानमन्त्री ओलीले २०७४ साल माघ ७ गतेसम्म स्थानीय, प्रदेश र संसद्को निर्वाचन नभए देशमा संवैधानिक सङ्कट उत्पन्न हुने बताउनुभयो । चैत्रमा सरकार परिवर्तन र स्थानीय निकायको चुनाव दुवै एकसाथ हुने उल्लेख गर्दै उहाँले अहिले सरकारमा जानका लागि केही मान्छेहरु ‘लिगलिगे दौड’ जस्तै होडबाजी गरिरहेको बताउनुभयो ।

एमाले अध्यक्ष ओलीले अब बन्ने प्रधानमन्त्रीले मधेसका माग पूरा गर्छ भनेर नक्कली कुरा गरिरहेको बताउनुभयो । उहाँले मधेसका नाममा राजनीतिक गर्नेले मधेसीका निम्ति केही नगरेको आरोप लगाउनुभयो ।

एमाले नेता माधवकुमार नेपालले माओवादीसँगको सहकार्य आवश्यक रहेको बताउनुभयो । “असमयमा नै गठबन्धन टुट्यो । यसमा माओवादीको पनि कमजोरी छ । हतारमा पदीय आकाङ्क्षा माओवादीले पनि ग¥यो”–उहाँले भन्नुभयो, “हामीले पनि ध्यान दिन सकेनौँ । नीति कार्यक्रम, बजेट पेस भइसेकेको अवस्थामा वर्तमान गठबन्धन जोगाउनु पर्दथ्यो ।”

उहाँले अब बन्ने सरकारले अघिल्लो सरकारले गरेका राम्रो कामलाई निरन्तरता दिनुपर्ने बताउँदै मुलुकको सार्वभौमसत्ताका लागि लड्ने जो सुकैलाई पनि एमालेको सहयोग हुने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले मधेसमा नेपाल विरोध गतिविधि सञ्चालन भइरहेको भन्दै त्यो अत्यन्त डर लाग्दो भएको बताउनुभयो ।

प्रतिष्ठानका अध्यक्ष गोपाल शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एमाले नेता केशव बडालले तुल्सीलालले देखाएको बाटोमा हिँडेमात्र उहाँप्रति सच्चा सम्मान हुने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts