Thursday, September 15, 2016

सुप्रिम कलेजका विद्यार्थीले गरे श्रमदान

सिन्धुपाल्चोक (गिरानचौर), ३१ भदौ । सुप्रिम कलेज सामाखुसीका विद्यार्थी एवम शिक्षकले गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनामा पुगेर बिहीबार एकदिने श्रमदान गरेका छन् ।

धुर्मुस–सुन्तली फाउन्डेसनले भूकम्पबाट घर भत्केकाका लागि सो गाउँमा एक सामुदायिक भवनसहित ६५ आवासीय भवन निर्माण गरिरहेको छ । फाउन्डेसनले देश–विदेशका व्यक्ति, सङ्घसंस्थाबाट प्राप्त करिब पाँच करोड रुपैयाँ लागतमा मेलम्ची नगरपालिका–८ मा गत वैशाखदेखि घर बनाउने काम थालेको हो ।

सुप्रिम कलेजका ३० विद्यार्थी एवम् अध्यापकले निर्माणाधीन घरवरपर थुप्रिएको माटो फाल्ने, ब्लकसहितका निर्माण सामग्री ओसार्नेजस्ता श्रमदान गरेका थिए । कलेजका कोअर्डिनेटर ओमबहादुर अधिकारीले भूकम्पपीडितका लागि धुर्मुस–सुन्तलीले थालेको घर निर्माण अभियानमा केही भएपनि सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै आगामी दिनमा फाउन्डेसनले गर्ने काममा अझै जनश्रमदान गर्ने वचन दिनुभयो ।

विद्यार्थीहरु मुकुन्द बस्नेत र अक्रिना खकुरेलले विद्यार्थीमा समाजसेवाको भावना जागृत गराउन व्यावहारिक रुपमै जनश्रमदान गरिएको बताउनुभयो । काठमाडौँबाट वनेपा, मेलम्ची हुँदै ७४ किलोमिटर टाढाको सो गाउँमा बाल, अपाङ्ग र वातावरणमैत्री एकीकृत नमुना बस्तीमा शनिबार झन्डै चारसय व्यक्ति अवलोकन एवम् जनश्रमदानका लागि आउने परियोजनाका कोअर्डिनेटर अर्जुनप्रसाद न्यौपानेले बताउनुभयो ।

जम्मा ६५ घरका ४०० जना लाभान्वित हुने ३० रोपनीमा निर्माणाधीन परियोजनामा नेपाली सेना, क्विक भोलन्टियर तथा विदेशीले समेत जनश्रमदान गरिरहेका छन् ।

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले जिम्मेवार नागरिकका रुपमा सहयोग जुटाएर भूकम्पपीडितलाई सहयोग थालिएको बताउँदै यो सबै नेपालीको साझा अभियान भएको बताउनुभयो । सुप्रिम कलेजका शिक्षकहरु रमेशचन्द्र अधिकारी, अशोक थापा र दीपक सिलवालले एकीकृत नमुना बस्ती साँच्चैको नमूना कार्य भएको धारणा राख्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts