Wednesday, September 7, 2016

जीवनशैलीका कारण कलेजोमा बोसो जम्ने समस्या बढ्दो

काठमाडौँ, २२ भदौ । जीवनशैलीका कारण आजकल कलेजोमा बोसो जम्ने समस्या अधिकांश नेपालीमा देखिन थालेको छ ।

वीर अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ प्रा डा विधाननिधि पौडेलका अनुसार कलेजोमा केही मात्रामा बोसो हुनु स्वभाविक भए पनि १० प्रतिशतभन्दा बढी बोसो छ भने यस्तो अवस्थालाई कलेजोमा बोसो जमेको मानिन्छ ।

सुरुमा यसले खासै असर नगरे पनि पछि यसले सिरोसिस भई क्यान्सर समेत हुनसक्ने उहाँको भनाइ छ ।

उहाँ भन्नुहुन्छ, ‘‘कलेजोमा बोसो जम्ने रोगलाई पहिलेकै अवस्थामा ल्याउन सकिन्छ । बिरामीले रहनसहन, जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ । खानामा हरियो सागसब्जी, पलफूलको मात्रा बढाउने, काब्रोहाइट्रेड कम खाने, रक्सी नखाने, व्यायाम गर्ने हो भने यो समस्यामा मुक्त रहन सकिन्छ ।’’

उहाँले कलेजोमा बोसो जम्ने समस्यालाई रक्सीको कारणले र रक्सीबाहेकका अन्य कारणले हुने हिसाबले दुई वर्गमा बाँडिएको बताउनुभयो । रक्सी नखाने तर चिल्लो बोसोयुक्त खाना खाना, बढी मासु खाने व्यक्तिलाई यो समस्या देखिन सक्छ ।

यो समस्या वयस्क उमेरमा बढी देखिन्छ, तौल बढी भएमा, मधुमेहरोग भएमा, रगतमा कोलेस्ट्रोलको मात्रा बढी भएमा, उच्च रक्तचाप भएमा पनि कलेजोमा बोसो जम्नसक्छ ।

भाइरल हेपाटाइटिस, मेटाबोलिक रोग, अटो इम्युन रोग, छिट्टै वजन घटाउन खाना कम गर्दा, कुपोषणका कारणले पनि यो रोग देखिन सक्छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा विवेक शर्माले कलेजोमा बोसो जमेपछि छिट्टै थाक्ने, खान मन नलाग्ने वाकवाकी लाग्ने, तौल कम हुँदै जाने, दाहिने कोखामुनि दुख्नु, रातो नसा छालामा देखिन जस्ता लक्षण देखिने बताउनुभयो ।

उहाँले कलेजो बिग्रदै गएमा स्मरणशक्ति कम हुने, शरीर पहेँलो हुँदै जाने र कमलपित्त हुने, खुट्टा र पेट सुन्निने, बाँझोपन र नपुंशक हुने, मुख र शरीरको अन्य भागबाट रगत आउने, शरीर सुक्दै जाने जस्ता लक्षण देखिने पनि बताउनुभयो ।

गर्भवती महिलामा यो रोग कम देखिन्छ तर भेटिएको खण्डमा बच्चा र आमा दुवैका लागि खतरापूर्ण हुने चिकित्सकको भनाइ छ ।

डा शर्मा सबै रक्सी सेवन गर्नेलाई यो समस्या नहुन पनि सक्छ तर तुलनात्मक रुपमा पुरुषभन्दा बढी महिलामा बढी देखिने गरेको बताउनुहुन्छ ।

यो समस्याबाट बच्ने सबैभन्दा मुख्य कुरा जीवनशैली परिवर्तन गर्नु हो । रक्सी सेवन नगर्ने, ताजा र पोषिला खानेकुरा खाने, दिनहुँ व्यायाम गर्ने, मोटोपन भएमा हप्ताको एक पाउण्डको हिसाबले तौल कम गर्दै लैजाने र डाइटिसियनको परामर्श लिएर खानालाई सन्तुलित बनाउनुपर्ने हुन्छ ।

यसैगरी मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएमा तिनलाई नियन्त्रणमा राख्ने, हेपाटाइटिस र निमोनिया विरुद्धको खोप लगाउने, डाक्टरको सल्लाहबाहेकको औषधि सेवन नगर्न डा शर्माले सल्लाह दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts