ललितपुर, २१ भदौ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग गरिएको तीनबुँदे सम्झौता कार्यान्वयन छिट्टै हुनुपर्नेमा जोड दिनुभएको छ ।
प्रादेशिक मोर्चा सम्बन्ध पक्षले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकार निर्माणको बेला गठबन्धनसँग गरिएको सहमति कार्यान्वयनमा भएको ढिलाइले शङ्का उत्पन्न भएको बताउनुभयो ।
संविधान संशोधनमार्फत गठबन्धनले राख्दै आएको माग पूरा गरिनुपर्ने उहाँको भनाइ थियो ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरले गठबन्धनसँग गरिएको सहमतिबमोजिम संविधान संशोधनको प्रस्ताव संसदमा लैजानुपर्नेमा जोड दिनुभयो । सबै जातजातिले पहिचानसहितको समान अधिकार प्राप्त गरेपछि मात्र राष्ट्र अघि बढ्न सक्ने उहाँको भनाइ थियो ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले पहिचानसहितको नेपाली बन्न पाउनुपर्नेमा जोड दिनुभयो । संविधान संशोधन प्रक्रिया तीन ठूला राजनीतिक दललगायत सबै साना दलको सहमतिमा हुनुपर्नेमा उहाँँको भनाइ थियो ।
आदिवासी जनजाति पार्टी नेपालका अध्यक्ष बुद्धराम तामाङले जतिसक्दो छिटो मोर्चाले उठाउँदै आएको मागलाई सरकारले पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
खसान, थरुहट, मगरात, तमुवान, ताम्सालिङ, नेवा, शेर्पा, किरात, खम्बुवान, शिल्पीलगायतका प्रादेशिक मोर्चाले कार्यक्रमको आयोजना गरेको थियो । रासस
No related posts.
No comments:
Post a Comment