काठमाडौँ, २० भदौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्वको नवौँ राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको संयोजकत्वमा विभिन्न १५ सङ्घसंस्थाले बेचबिखनविरुद्व जनचेतनात्मक सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको हो ।
आज भृकुटीमण्डपबाट निस्केको जनचेतनात्मक ¥याली कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुगेर मुख्य कार्यक्रमको आयोजना गरी समापन भएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायधीश सुशीला कार्कीले मानव बेचबिखन तथा ओसारपसार जघन्य अपराध भएको बताउँदै यसको न्यूनीकरणका लागि जनचेतनात्मक कार्यक्रमका साथै ऐनमा परिमार्जन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले मानव बेचबिखन रोक्न सबैको सहकार्य आवश्यक रहेको बताउँदै जनचेतनात्मक कार्यक्रमलाई जिल्लामा मात्र केन्द्रित नगरी गाउँसम्म लैजानुपर्छ भन्नुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगको सन् २०१५ को तथ्याङ्कअनुसार नेपालबाट करिब १० हजार मानिस बेचबिखनमा परेका थिए । २०७२ वैशाख १२ को भूकम्पपछि यो सङ्ख्या १५ प्रतिशतले बढेको आयोगले जनाएको छ ।
नेपालबाट यौन व्यवसायका लागि मात्र नभई श्रम तथा मानव अङ्ग तस्करीका लागि समेत मानव बेचबिखन तथा ओसारपसार हुने गरेको बताइन्छ । रासस
No related posts.
No comments:
Post a Comment