काठमाडौँ, ५ असोज । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले गिद्ध संरक्षणका लागि विभिन्न स्थानमा रेस्टुरेन्ट स्थापना गरेको छ ।
विसं२०५८तिर नेपालमा अधिकाशं गिद्ध मर्न थालेपछि तिनको संरक्षणका लागि विभागले रेस्टुरेन्ट स्थापना गरेको हो । रेष्टुरेन्टमा मर्न लागेका गाईवस्तुलाई लगेर राखिदिने र मरेपछि गिद्धले खाने गर्दछ, त्यसैले यसलाई ‘गिद्ध रेस्टुरेन्ट’ (गिद्ध आहरा केन्द्र) भनिएको हो ।
यसलाई ‘जटायु रेष्टुरेन्ट’ पनि भन्ने गरिन्छ । अधिकाशं मरेका वस्तुलाई आफ्नो मुख्य आहरा बनाउने गिद्धलाई संरक्षण तथा संवद्र्धनका लागि विभाग र स्थानीय बासिन्दाको पहलमा नेपालको विभिन्न सात स्थानमा रेस्टुरेन्ट स्थापना गरिएको विभागका पर्यावरणविद् लक्ष्मण पौडेलले जानकारी दिनुभयो ।
पन्ध्र वर्ष अघि बिरामी भएका गाईवस्तुलाई उपचारका लागि ‘डाइक्लोफेन्याक’ नामक औषधि खुवाइने र तिनीहरु मरेपछि गिद्धले खाने गर्दा अधिकाशं गिद्ध मरेको पौडेलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गिद्ध मरेपछि पर्यावरणमा ठूलो असर प¥यो यसको अध्ययन र अनुसन्धानपछि गाईवस्तुलाई खुवाउने उक्त औषधि नै बन्देज गरियो ।”
उहाँले विसं २०५८ मा औषधि प्रयोग गरेका गाइवस्तु खाएर झण्डै ९० प्रतिशत गिद्ध मरेको दावी गर्नुभयो । त्यसपछि विभागले अध्ययन र अनुसन्धानपछि पुनः विस २०६४ बाट गिद्ध संरक्षण गर्न थालेको हो ।
गिद्धको आहारका लागि विभागले नवलपरासीको पिठाँैली, दाङको लालमटिया, घोराही, रुपन्देहीको गैँडाताल, कैलालीको कुटिया, सुनसरीको रामधुनी र कास्कीको घाचोकमा गिद्ध रेस्टुरेन्ट स्थापना गरेको छ ।
गिद्धलाई कुचीकार चराको रुपमा पनि हेर्ने गरिन्छ । मरेका वस्तुलाई तत्काल खाएर सफा गरिदिने भएकाले यसलाई कुचीकार चरा समेत भनिएको हो ।
विभागका प्रवक्ता किशोरकुमार मेहताले अहिले गिद्ध बस्ने अग्ला रुख काट्न थालेकाले तिनको सङ्ख्यामा कमी आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बासस्थानका लागि गिद्ध बस्ने ठूल्ठूला सिमलका रुख काटेर बेच्न थालेपछि गिद्ध बस्ने स्थानको अभाव भयो । त्यसैले गिद्धको सङ्ख्यामा कमी आएको हो ।”
नेपालमा हाल १२ देखि १५ हजारको हाराहारीमा गिद्ध पाइन्छन् । यसमध्ये सबैभन्दा धेरै १० हजारको हाराहारीमा हिमाली गिद्ध पाइन्छ, भने सबैभन्दा थोरै सानो खैरो गिद्ध पाइन्छ उक्त गिद्ध जम्मा ६० वटा रहेको छ ।
यसबाहेक पहाड र तराईमा पाइने डङ्गर गिद्ध एकहजारदेखि दुईहजार, हिमाल र तराईमा पाइने राजगिद्ध ६० देखि १००, हिमालदेखि तराईमा पाइने सुनगिद्ध २०० सयदेखि ४०० सयसम्म, हिमालमा पाइने हाडफोर गिद्ध ४०० सयदेखि ५०० सयसम्म र तराईदेखि हिमालमा पाइने सेतो गिद्ध ३०० सयदेखि एकहजारको सङ्ख्यामा रहेको विभागले जनाएको छ ।
यस्तै खैरो गिद्ध पनि केही समय अगाडिदेखि फेला परेको छ । कोसी क्षेत्रको आसपासमा फेला परेको उक्त गिद्धको अध्ययन अनुसन्धान गर्न बाँकी रहेको विभागले जनाएको छ।
विश्वका विभिन्न देशमा अगस्टमा अन्तर्राष्ट्रिय गिद्ध संरक्षण जनचेतना दिवस मनाउने गरेपनि नेपालमा भने अहिलेसम्म उक्त दिवस मनाइएको छैन ।
यस्तै गिद्धको सङ्ख्या वृद्धि गर्नका लागि विभागले चितवनको मसरामा गिद्ध संरक्षण केन्द्र स्थापना गरेको छ । गिद्धका साना बच्चालाई पालिने र ठूलो भएपछि विभिन्न स्थानमा लगेर छोड्ने गरिएको छ । यसले गर्दा गिद्धको सङ्ख्या बढ्ने विश्वास विभागले लिएको छ । अच्युत रेग्मी/रासस
No comments:
Post a Comment