काठमाडौँ, ४ असोज । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल सबै जातिको साझा फूलबारी भएकाले ती फूलहरुको जतन गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
संविधान दिवस, २०७३ को अवसरमा रेडियो नेपालले आज यहाँ आयोजना गरेको ‘फूलबारी गीत सम्मेलन, २०७३’ को उद्घाटन गर्दै उहाँले भन्नुभयो – “नेपाल सयौँ जातिको फूलबारी हो, यहाँ देवकोटाले भनेजस्तै मुर्झाउन लागेका फूलहरुलाई अलि बढी जतन गर्नुपर्छ, खिइन लागेका बोटलाई अझ बढी मलजल गर्नुपर्छ र फक्रिएका फूललाई पनि चुँडाएर फाल्न भएन, सबै फूलको जतन गरौँ, यो रेडियो नेपालको जिम्मा हो ।”
मन्त्री कार्कीले रेडियो नेपाललाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै रेडियो नेपालले सबै नेपालीको रेडियो हो भन्ने सन्देश दिनुपर्नेमा जोड दिनुभयो ।
गीत संसारको पुरानो काव्य भएको बताउँदै उहाँले भन्नुभयो –“गीत प्रकृति, श्रम र प्रेमको त्रिवेणी हो, त्यसले गीतलाई सम्मान गर्नुपर्छ ।” सरकारका प्रवक्तासमेत रहनुभएका कार्कीले प्रेमलाई मात्र गीत ठान्ने र श्रमलाई मात्र गीत ठान्ने सोचाइ गलत भएको बताउँदै सबैलाई मिलाएर लगेमा गीतको विकास हुने बताउनुभयो । बब बार्ली एवम् भारतीय गायक भूपेन हजारीजस्ता महान् गायकबाट संसारले सिक्नुपर्ने उहाँको धारणा थियो ।
सूचना तथा सञ्चार सचिव दिनेशकुमार थपलियाले फूलबारी सम्मेलनले सबै जातजाति र धर्मलाई एकताबद्ध गर्ने बताउँदै सबै भाषाभाषीको अनुपम सङ्गम फूलबारी भएको बताउनुभयो । उहाँले संविधानले नेपालमा बोलिने सबै भाषालाई मातृभाषाका रुपमा सम्मान गरेको भन्दै २१ वटा भाषामा गरिने फूलबारी कार्यक्रमले संविधान कार्यान्वयनमा सघाउने बताउनुभयो ।
सचिव थपलियाले पछिल्लो समयमा रेडियो नेपाललाई २४ घन्टा प्रसारण र इन्टरनेटमार्फत विश्वका सबै भूभागमा पु¥याउने गरी प्राविधिक एवम् गुणस्तर सुधार गर्ने कार्य सुरु गरिएको जानकारी दिँदै सबै नेपालीको यस साझा संस्थालाई अझ उचाइमा पु¥याउने बताउनुभयो ।
त्यसैगरी, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले फूलबारी कार्यक्रमले सबै जातजाति र भाषाभाषीलाई एकताबद्ध बनाउन सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रेडियो नेपालका अनुसार आज दिनभर मुलुकका विभिन्न स्थानमा बोलिने २१ भाषामा गीत प्रस्तुत गरिनेछ । रासस
No comments:
Post a Comment