चितवन, २४ भदौ । वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले राजनीतिक जटिलताको अन्त्य नभएसम्म निजी उद्योग कलकारखाना फस्टाउन नसक्ने बताउनुभएको छ ।
नेपाल प्लाइउड उत्पादक सङ्घको १७औँ वार्षिक साधारणसभाको आज सौराहामा उद्घाटन गर्दै मन्त्री भण्डारीले राजनीतिक जटिलताको अन्त्य नभएसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताउनुभएको हो ।
वन्यजन्तु र मानवबीचको द्वन्द्वका कारण वन अतिक्रमण रोक्न नसकिएको भन्दै मन्त्री भण्डारीले वन अतिक्रमण रोक्नका लागि अतिक्रमण गर्नेलाई कानुनी दायरामा ल्याउने बताउनुभयो ।
प्लाइउड व्यवसायीको समस्या कच्चा पदार्थका रुपमा आवश्यक रुखको संरक्षण गर्न सरकार तयार रहेको भन्दै उहाँले प्लाइउड व्यवसायको संरक्षण र सम्वद्र्धनका लागि स्पष्ट खाकासहित मन्त्रालयमा आए सरकारले गर्नसक्ने सहयोग गर्ने पनि प्रतिबद्धता जनाउनुभयो ।
नेपालका १८ वटा जिल्लामा ५८ वटा प्लाइउड उद्योग रहेका छन् । उद्योगमा रु छ अर्बभन्दा बढी लगानी भएको र बर्सेनि रु एक अर्ब राजस्व बुझाउने गरेको व्यवसायीले बताएका छन् । रासस
No comments:
Post a Comment