Thursday, September 29, 2016

बुद्धधर्म आध्यात्मिक उन्नयनप्रति समर्पित जीवनपद्धति : राष्ट्रपति

काठमाडौँ, १३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धधर्म धर्म मात्र नभई सम्पूर्ण मानवको आध्यात्मिक उन्नयनप्रति समर्पित जीवनपद्धति भएको बताउनुभएको छ ।

दक्षिण कोरियाको राजधानी सियोलमा भइरहेको विश्व बौद्ध भ्रातृत्व सङ्घको २८औँ विश्व बौद्ध सम्मेलनको सफलताको कामना गर्दै पठाउनुभएको सन्देशमा उहाँले विश्व शान्ति, बान्धुत्व र अहिंसाका प्रवर्तक बुद्ध लुम्बिनीमा जन्मनुभएको सन्दर्भ र यसपटकको सम्मेलनको विषय ‘दैनिक जीवनमा बुद्धधर्म र बौद्धहरुको जीवनपद्धति’ राखिएबाट आफू अत्यन्त प्रभावित भएको बताउनुभएको छ ।

विगतमा नेपालमा चौथों र पन्ध्रौँ बौद्ध सम्मेलन भएको स्मरण गराउँदै राष्ट्रपति भण्डारीले लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहर, बौद्धहरुका साथै शान्ति र स्थिरतामा आस्थाबान् सम्पूर्ण मानिसका लागि एक तीर्थस्थलको रुपमा विकास गर्न नेपालले सक्दो प्रयास गर्दै आएको बताउनुभएको छ ।

साथै, उहाँले दक्षिण कोरियाली सरकारबाट यी सम्मेलनहरु आयोजना भइरहेका बेला कोरियाली राष्ट्रपति र कोरियाली जनताको शान्ति र प्रगतिको कामना पनि गर्नुभएको छ ।

नेपाल र दक्षिण कोरिया दुवै मुलुकले निकट र सौहार्द सम्बन्ध र सहयोग कायम राख्दै आएको र कोरियाले नेपाललाई विभिन्न क्षेत्रमा सहायता उपलब्ध गराउँदै आएको ठूलो सन्तोषको विषय भएको पनि राष्ट्रपतिले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ ।

सियोलमा असोज १० देखि १४ सम्म विश्व बौद्ध भ्रातृत्व सङ्घको सम्मेलनका साथसाथै विश्व युवा बौद्ध सङ्घ र विश्व बौद्ध विश्वविद्यालय परिषद्का बैठकहरु एकसाथ भइरहेका छन् ।

नेपालका तर्फबाट धर्मोदय सभाका उपाध्यक्ष लक्ष्मीदास मानन्धरको नेतृत्वमा अर्का उपाध्यक्ष रत्नमान शाक्य, महासचिव सागरमान बज्राचार्य, सचिव अशोकनन्द बज्राचार्य र युवक बौद्ध मण्डलका प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलले ती सम्मेलनमा सहभागतिा जनाइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts