काठमाडौँ, १४ असोज । छब्बीसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसलाई भव्य रूपमा सफल बनाउन ‘२६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मूल समारोह समिति’ गठन गरिएको छ ।
‘ज्येष्ठ नागरिकप्रति गरिने भेदभावविरुद्ध उभिऔँ’ भन्ने मूल नाराका साथ मनाउन लागिएको सो दिवसलाई विगतका वर्षहरूमा भन्दा अझै भव्य बनाउन महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको अध्यक्षतामा १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो ।
समितिमा विभिन्न मन्त्रालय र ज्येष्ठ नागरिकका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू रहेका छन् ।
संयुक्त राष्ट्र सङ्घले १९९० डिसेम्बर १४ मा अक्टुबर १ लाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । सन् २००७ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ ।
अक्टुबर १ (असोज १५) मा यो दिवस मनाउँदै आएको भए पनि यो बर्ष सो दिन शनिबार परेको हुँदा आइतबार विभिन्न कार्यक्रम गरी मनाइने भएको छ ।
दिवसका अवसरमा पदयात्रा, ज्येष्ठ नागरिकलाई सम्मान, फलफूल वितरण, सरसफाइ र अन्तक्र्रियालगायतका कार्यक्रमसमेत आयोजना गरिने जनाएको छ । रासस
No comments:
Post a Comment