काठमाडौँ, २४ भदौ । मुख्य सचिव डा सोमलाल सुवेदीले अस्थिर सरकार भएकाले विकास निर्माणको काम गर्न नसकिएको बताउनुभएको छ ।
पूर्वकर्मचारी सेवा परिषद्ले आज यहाँ आयोजना गरेको ‘सम्मान तथा छात्रवृत्ति पुरस्कार वितरण’ कार्यक्रममा मुख्य सचिव सुवेदीले सरकार परिवर्तनका कारण विकास कार्यक्रम जनतासमक्ष लैजान नसकिएको बताउनुभयो ।
“एक वर्षमा तीन वटा प्रधानमन्त्रीसँग काम गर्नुपर्दछ”– उहाँले भन्नुभयो, “राजनीतिसँग निजामती गाँसिएर आउने हुनाले काम प्रभावकारी हुन सकेको छैन । तैपनि काम गरिरहेका छौँ ।”
उहाँले देशमा १८ वर्षदेखि स्थानीय तह नहुँदा काममा समस्या भएको चर्चा गर्नु भयो ।
कार्यक्रममा सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले निजामती सेवाका कर्मचारी देशका सच्चा पहरेदार भएर काम गर्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा परिषद्ले पूर्वसचिवद्वय ईश्वरीलाल श्रेष्ठ र सच्चिदानन्द श्रीवास्तव, पूर्वउपसचिवद्वय शान्ता प्रभा धौभडेल र बलबहादुर परियार र पूर्वशाखा अधिकृत चिरञ्जीवीकुमार श्रेष्ठलाई सम्मान गरेको थियो । उहाँहरुलाई मुख्य सचिव डा सुवेदीले दोसल्ला र प्रशंसापत्रले सम्मान गर्नुभएको थियो ।
यसैगरी, परिषद्ले हरेक वर्ष प्रदान गर्ने शोभाकान्त नेपाल स्मृति प्रतिभा पुरस्कार इलामकी अस्मिता खनाललाई प्रदान गरिएको छ । पुरस्कारको राशि रु १५ हजार रहेको छ । पद्महिरा पूर्वकर्मचारी सेवा पुरस्कार प्रवेशिका परीक्षामा निजामती कर्मचारीका छोराछोरीमा सर्वोत्कृष्ट अङ्क ल्याउने सोनीका श्रेष्ठलाई प्रदान गरिएको परिषद्का महासचिव रामबाबु नेपालले जानकारी दिनुभयो । उक्त पुरस्कारको राशि रु १० हजार रहेको छ । रासस
No related posts.
No comments:
Post a Comment