काठमाडौँ, ५ असोज । सञ्जय स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका खेलाडी सञ्जय अर्याल र महिला टोलीकी मञ्जु गुरुङलाई सम्मान गरेको छ ।
यहाँ आज आयोजित कार्यक्रममा नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले उहाँहरुलाई सम्मान सहित जनही रु २५ हजार प्रदान गर्नुभयो । सञ्जयले सन् २००६ मा बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीबाट पहिलो पटक खेल्नुभएको थियो ।
श्रीलङ्काको कोलम्बोमा भएको १० औँ दक्षिण एसियाली खेलकुद (साग) मा उहाँले पाकिस्तानविरुद्ध आधिकारिक ‘डेब्यु’ गर्नुभयो । त्यसयता उहाँ राष्ट्रिय भलिबल टोलीको सदस्य रहँदै आउनुभएको छ । सञ्जय नेपाल पुलिस क्लबको व्यावसायिक भलिबल खेलाडी हुनुहुन्छ ।
त्यस्तै १२ औँ सागमा महिला भलिबलमा नेपाललाई कास्य पदक दिलाउँने मञ्जु टोलीको महत्वपूर्ण खेलाडी हुनुहुन्थ्यो ।राष्ट्रिय टोलीका सदस्य उहाँ हाल पश्चिमाञ्चल भलिबल टोलीबाट व्यावसायिक खेल खेल्नुहुन्छ ।
भलिबलका पूर्व राष्ट्रिय खेलाडी स्व.मास्केको नाममा पाल्पाको तानसेनमा स्थापित प्रतिष्ठानले गत वर्षदेखि खेलाडीलाई सम्मान गर्दै आएको हो । गत वर्ष भलिबलकै दुई खेलाडी इम राना र निशा शाहलाई सम्मान गरेको थियो ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री भट्टराईले सीमित स्रोत साधनमा बाबजुत नेपाली खेलाडीले देशको नाम उँचो बनाउन भूमिका खेलेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष विश्वविजय जोशीले सञ्जय मास्के खेलप्रेमी भएकाले उहाँको नाममा पुरस्कार स्थापना गरेको जानकारी दिँदै आमामी दिनमा पनि खेलाडी सम्मान कार्यक्रम जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस
No comments:
Post a Comment