Monday, October 3, 2016

भू–जैविक प्रविधियुक्त सडक निर्माणमा जोड

ललितपुर, १७ असोज । वातावरणमैत्री भू–जैविक प्रविधि अर्थात् स्थानीय स्रोत साधनमा आधारित सडक निर्माण गरिएमा आर्थिक नोक्सानी र वातावरणीय ह्रास कम गर्न सकिने भएकाले राज्यले यसतर्फ ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

जथाभावी निर्माण गरिएका ग्रामीण सडकबाट खेतीयोग्य जमिन र प्राकृतिक स्रोतमा क्षति गर्नुका साथै सडकको मर्मतसम्भारमा उल्लेख्य वृद्धि, दुर्घटनामा वृद्धि तथा वातावरणीय क्षति भएकाले परिस्थितिकीय प्रणालीमा आधारित भू–जैविक प्रविधि भरपर्दो विकल्प बन्न सक्ने उहाँहरुको धारणा रहेको छ ।

भू–संरक्षण तथा जलाधार व्यवस्थापन विभाग र प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आइयुसिएन)को आयोजनामा आजदेखि यहाँ सुरु भएको पूर्वाधार तथा समुदायको सुरक्षाका लागि परिस्थितिकीय प्रणाली (इपिक) ः समुदायको समयानुकूल क्षमता सुधारका लागि पर्या–विपद्सम्बन्धी राष्ट्रिय कार्यशालाका सहभागी वक्ताहरुले सो धारणा व्यक्त गरेका हुन् ।

कार्यशालामा जलवायु परिवर्तन र प्राकृतिक प्रकोपका कारण ग्रामीण कच्ची सडकको क्षतिबाट समुदायमा पर्न जाने जोखिम कम गर्न परिस्थितिकीय प्रणालीलाई अपनाउनुपर्ने, नेपालमा यस सम्बन्धमा गरिएका सफल अभ्यासहरुलाई विस्तार गर्नुपर्नेमा गोष्ठीमा जोड दिइएको थियो ।

गोष्ठीको उद्घाटन गर्दै वन तथा भू–संरक्षण मन्त्रालयका सहसचिव डा प्रेमनारायण कणेँलले विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित जीविकोपार्जनका लागि समुदायस्तरमा ग्रामीण सडक विस्तार गर्दा भू–प्रविधि प्रयोगमा ध्यान दिनुपर्ने बताउनुभयो ।

भू–संरक्षण तथा जलाधार व्यवस्थापन विभागका महानिर्देशक विजयराज पौड्यालले वातावरण संरक्षणसम्बन्धी प्रशस्त नीति, ऐन नियम भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै गोष्ठीले देशभित्र र अन्य देशका अनुभव आदानप्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।

आइयुसिएनका राष्ट्रिय प्रविधि डा प्रह्लाद थापाले परिस्थितिकीय प्रणालीमा आधारित भू–जैविक प्रविधिको प्रयोग र समुदायको समयानुकूल क्षमताको विकासमार्फत वातावरणमैत्री सडक निर्माणमा जोड दिनुभयो ।

पाँच दिनसम्म सञ्चालन हुने सो गोष्ठीमा ६० भन्दा बढीको सहभागिता रहेको छ ।

कार्यशालाको अन्तिम तीनदिन सहभागीहरुलाई कास्कीका विभिन्न स्थलमा भू–जैविक प्रविधिअनुसार निर्माण गरिएका सडकको स्थलगत भ्रमण गराइनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts