काठमाडौँ, १६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले समसामयिक विषय तथा नेपाली सेना सम्बन्धि जानकारी लिने उद्देश्यले आज जङ्गी अड्डाको निरीक्षण भ्रमण गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले निरीक्षण भ्रमणका क्रममा नेपाली सेनाले राष्ट्रिय स्तरमा गरेको प्रकृति संरक्षण, विकास निर्माण तथा विपद् व्यवस्थापन जस्ता कार्य तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विश्व शान्ति स्थापनार्थ गरेको कार्यको प्रशंसा गर्नुभयो । उहाँले नेपाली सेनालाई साधन श्रोत सम्पन्न बनाई सुदृढ एवम् थप क्षमतावान बनाउन सरकारले पूर्ण सहयोग गर्ने दृढता व्यक्त गर्नुभयो ।
निर्देशनका क्रममा प्रधानमन्त्री दाहालले सेना राज्यको अन्तिम शक्तिको रुपमा रहेको हुँदा आईपर्न सक्ने जस्तोसुकै चुनौतिको सामना गर्न सक्ने गरी तयार रहनुपर्ने कुरामा जोड दिनुभयो । गत वर्ष गएको भूकम्पमा पु¥याएको योगदानले नेपाली सेना जनतामाझ सम्मानित भएको उहाँले बताउनुभयो ।
यस्तै रक्षामन्त्री बालकृष्ण खाँडले सेनाले आफ्नो स्थापनाकालदेखि नै भौगोलिक अखण्डता, स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय स्वाधिनताको रक्षाको लागि पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै सेनालाई अझ सशक्त र आधुनिक बनाउँदै क्षमता थप अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको शुभारम्भमा प्रधान सेनापति राजेन्द्र क्षत्रीले प्रधानमन्त्री दाहालको स्वागत गर्दै इतिहासको विभिन्न कालखण्डमा अनेकौँ चुनौतिका बाबजुद देशको भौगोलिक अखण्डता राष्ट्रिय स्वाधिनताको संरक्षण गरी नेपाललाई अक्षुर्ण राख्ने जिम्मेवारी नेपाली सेनाको भएको र सेना व्यवसायिक तथा ग्रैह्र राजनीतिक संस्थाको रुपमा रहेको र रही रहने कटिबद्धता व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधि, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, उर्जामन्त्री जनार्दन शर्मा, वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारी, सरकारका मुख्य सचिव सोमलाल सुवेदी, रक्षा सचिव श्रीधर सापकोटा, प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय तथा नेपाली सेनाका रथीहरुको उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । रासस
No related posts.
No comments:
Post a Comment