काठमाडौँ, १६ असोज । नेपाल उद्योग वाणिज्य महासङ्घले संसद्ले गत बिहीबार पारित गरेको औद्योगिक व्यवसाय ऐनको स्वागत गर्दै त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।
महासङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी ऐनलाई निजी क्षेत्रले मुलुकको आद्योगिकीकरणको प्रस्थान बिन्दुका रुपमा लिएको जनाएको छ । “सुदृढ औद्योगिक सम्बन्धलाई उत्पादकत्व वृद्धिको मुख्य आधार मान्दै काम नगरेको दिनको ज्याला दिनुनपर्ने प्रावधान ऐनमा समेटिनुलाई हामीले अत्यन्त सकारात्मक रुपमा लिएका छौँ, यसबाट उद्योग व्यवसाय सञ्चालनको वातावरण बन्नेमा निजी क्षेत्र विश्वस्त छ”– महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भन्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमणका बेला नेपालमा लगानी आकर्षण गर्न भारतीय उद्यमी व्यवसायीसँग भएका छलफलबाट बाह्य लगानी प्रवद्र्धन र औद्योगिक विकासमा योगदान पुग्नेमा महासङ्घ आशावादी रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालको प्रतिबद्धतालाई महासङ्घले सकारात्मक रुपमा लिएको अध्यक्ष मुरारकाले बताउनुभयो ।
काम नगरेको दिनको ज्याला दिनुनपर्ने कानुनी प्रावधानप्रति मजदुर युनियनहरू नकारात्मक नरहेको भन्दै अब ‘अधिक काम अधिक पारिश्रमिक’प्राप्तितर्फ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । “कामका बेला अर्थात् कार्यालय समयमा राजनीतिक गतिविधिमा भाग लिन पाइँदैन भन्ने हो, त्यसमा युनियनका साथीहरु पनि असहमत हुनुहुन्न,” उहाँले भन्नुभयो ।
अध्यक्ष मुरारकाले जग्गाको हदबन्दी सम्बन्धमा सहज व्यवस्था हुनुपर्ने, उद्योगको जरिवाना कम गर्नुपर्ने तथा पुँजी वृद्धि गर्दासमेत स्वीकृति लिनुपर्ने झन्झटिला प्रावधान सरल गर्नुपर्ने महासङ्घको माग सुनाउनुभयो ।
गत बिहीबार पारित औद्योगिक व्यवसाय ऐनले उद्योगधन्दा सञ्चालनमा कामदार र कर्मचारीले बन्द हडतालजस्ता गतिविधि गर्न नपाउने र काम नगरेको दिनको ज्याला नपाउनेलगायत कानुनी व्यवस्था गरेको छ । रासस
No related posts.
No comments:
Post a Comment