Monday, October 31, 2016

संविधान संशोधनमार्फत असन्तुष्ट पक्षको माग सम्बोधन गरिने : मन्त्री यादव

लहान, १५ कात्तिक । शान्ति तथा पुनःनिर्माण मन्त्री सीतादेवी यादव संविधान संशोधन प्रस्तावमार्फत सरकारले असन्तुष्ट पक्षको माग सम्बोधन गर्न चाहेको बताउनुभएको छ ।
सिराहाबाट प्रकाशन सुरु भएको ‘सलहेश टाइम्स’ साप्ताहिक पत्रिकाको विमोचन गर्नुहुँदै मन्त्री यादवले असन्तुष्ट सबै पक्षको माग सम्बोधन हुनेगरी सरकारले संविधान संशोधनको प्रस्ताव लैजान लागेकाले प्रस्ताव पारित हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

मधेसको माग सम्बोधन नहुँदासम्म देशमा शान्ति स्थापना हुन नसक्ने र तीन तहको चुनाव पनि सम्भव नहुने जीकिर गर्नुहुँदै काँग्रेस केन्द्रीय कोषाध्यक्षसमेत रहनुभएकी मन्त्री यादवले संविधान संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाई कार्यान्वयन गरिने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका सांसद मो. मुक्तार अहमदले सिराहाको विकासमा सबै चिन्तित हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा नेकपा (एमाले)का सांसद आशा यादवले जनताको सूचनाको हक सुनिश्चित गराउन र संविधानको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

शान्ति मन्त्री यादव, सांसदद्वय अहमद र यादव, प्रेस काउन्सिलका सदस्य चन्द्रदेव कामती, नेकपा (एमाले)का जिल्ला अध्यक्ष प्रमोद यादव, नेपाल पत्रकार महासङ्घ सिराहाका अध्यक्ष देवकुमार यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य सुरेश मण्डल, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत कमलदेव यादव र सिरहा क्याम्पसका प्राध्यापक चन्देश्वर यादवले सामूहिक रुपमा पत्रिकाको विमोचन गर्नुभयो ।

सदरमुकाम सिरहाबाट प्रत्येक आइतबार पत्रिकाको प्रकाशन हुने जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts