काठमाडौँ, २० असोज । काठमाडौँको टेकुमा पचली भैरव जात्रा सम्पन्न भएको छ ।
प्रत्येक वर्ष नौरथाको चतुर्थीमा सुरु हुने सो जात्रा पञ्चमीका दिन विशेष तान्त्रिक पूजाआजाका साथ गरिन्छ । सरकारी तहबाट सहयोग हुने सो जात्राको विशेष महत्व छ । पचलीको मूर्तिलाई सजाएर विधिविधानका साथ पूजा गरिएको छ । जात्रामा अनिष्ट नहोस् भनी अघिल्ला दिन बोका काटेर भैरवलाई बलि समेत दिइएको थियो । मूल पुजारी (ढक जुजु)ले विधि विधानपूर्वक भैरवको पूजा तथा होम गर्नुभएको थियो ।
पचली भैरव जात्रा व्यवस्थापन उपसमितिले जात्राका लागि आवश्यक पर्ने तयारी तथा त्यहाँ आउने भक्तजनको व्यवस्थापन मिलाएको थियो । परापूर्वकालमा त्यस क्षेत्र आसपासमा बसोबास गर्ने मानिसलाई विभिन्न दानवीय शक्तिले दुःख दिँदै आएपछि त्यहाँका बुद्धिजीवी तथा बासिन्दाले भैरवको मूर्ति स्थापना गरी सो जात्रा निकाल्ने प्रचलन सुरु गरिएकोे जनविश्वास छ ।
सो उपसमितिका कोषाध्यक्ष नानुकाजी डङ्गोलले शक्तिको प्रतीकका रुपमा भैरवलाई परापूर्वकालदेखि पूजा गर्ने परम्परा चलेको जानकारी दिनुभयो । उहाँका अनुसार सो जात्रामा सहभागी भएपछि पारिवारिक सुखशान्ति तथा समृद्धि कायम हुन्छ । रासस
No comments:
Post a Comment