Sunday, October 2, 2016

हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाइने : मन्त्री शाही

काठमाडौँ, १६ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाइने बताउनुभएको छ ।

क्यानाडास्थित अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को मुख्यालय मन्ट्रियलमा भइरहेको ३९ औँ आइकाओ महासभालाई सम्बोधन गर्दै पर्यटनमन्त्री शाहीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकार लागिपरेको बताउनुभयो ।

नेपालको अधिकांश भूभाग हिमाल र पहाडले ओगटेकाले सुरक्षित हवाई उडान ‘प्राण’ जस्तै महत्वपूर्ण रहेको भन्दै उहाँले पर्वतीय पर्यटन र विकासमा पनि हवाई उड्डयनको ठूलो योगदान रहेको बताउनुभयो ।

सन् २०१३ मा आइकाओले नेपालको हवाई उडानसम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएका महत्वपूर्ण सुरक्षा चासोको विषयलाई सम्बोधन गर्न नेपालले आइकाओसमेतको सहयोगमा महत्वपूर्ण कार्यहरु गरिरहेकालै चाँडै मापदण्ड पुरा गर्ने मन्त्री शाहीको भनाइ थियो ।

महासभामा नेपालका तर्फबाट मन्त्री शाहीको नेतृत्वमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक, मन्त्रालयका सम्बन्धित शाखाका प्रमुख, नेपाल वायु सेवा निगमका प्रबन्ध निर्देशकलगायत प्रतिनिधिको सहभागिता रहेको क्यानाडाको ओटृावास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

असोज ११ देखि २१ सम्म चल्ने उक्त महासभाको क्यानाडाका यातायातमन्त्री, आइकाओ अध्यक्ष र मन्ट्रियलका मेयरले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो । सोमबार मन्त्री शाहीले आइकाओ परिषद्का अध्यक्ष र महानिर्देशकसँग संयुक्त भेटघाट गर्ने कार्यक्रम रहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts