Wednesday, October 26, 2016

संविधान कार्यान्वयन गर्न तीन दल मिल्नुपर्छ : कोइराला

तिलोत्तमा (रुपन्देही), १० कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले सविधान कार्यान्वयनका लागि प्रमुख तीन दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं– ४ ले आज बुटवलमा आयोजना गरेको कार्यकर्ता भेलामा उहाँले भन्नुभयो – मुलुकका लागि अहिले संविधान कार्यान्वयन गर्नु मुख्य कार्यभार हो, यसका लागि प्रमुख तीन दल साना–साना मुद्दा विभाजित नभएर एकजुट हुनुपर्छ ।

नेता कोइरालाले बिशेषगरी काँग्रेस, माओवादी (केन्द्र) र एमालेले मधेसी मोर्चासँग मिलेर संविधान कार्यान्वयन गर्नेतर्फ अग्रसर हुनुपर्दछ भन्दै “एमालेलाई उपेक्षा गरेर संविधान संशोधन गर्न सकिदैन, हामीले उसलाई पनि मनाउनुपर्छ” बताउनुभयो ।

संविधानको निर्माणका लागि निक्कै महत्वपूर्ण योगदान दिएको नेपाली सञ्चार क्षेत्रले यसको कार्यान्वयनमा पनि सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “लोकमान प्रकरणमा संसद् तथा नेताको बिशेष ध्यान छ तर सविधान कार्यान्वयनमा कसैले बोल्दैनन् ।”

नेता कोइरालाले सत्ताको नतृत्व गरेका पार्टी (माओवादी केन्द्र)ले सरकारका सहयात्री काँग्रेससँग कुनै सल्लाह नै नगरी प्रमुख प्रतिपक्ष दल (एमाले) सँगको साँठगाठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध महाभियोग प्रस्ताव ल्याइनु बेठिक भएको भन्दै कार्की पहिलेदेखि गलत व्यक्ति भएको बताउनुभयो ।

काँग्रेसका अर्का नेता आन्नदप्रसाद ढुङ्गनाले काँग्रेसले जारी गरेको सविधान कार्यान्वयनका लागि पनि काँग्रेसले अग्रसरता लिनुपर्ने बताउँदै कार्यकर्ताको भावनालाई बुझेर आगाडि जाने भन्दा पनि नेताले नै गुठ उप गुठमा लाग्दा तल्लो तहका नेता तथा कार्यकर्तामा निराशा छाएको बिचार व्यक्त गर्नुभयो ।

नेविसङ्घका पूर्व सभापति तथा सभासद् रञ्जित कर्णले अहिले लोकमानसिंह कार्कीको विषय उठाएर (एमाले) र (माओवादी केन्द्र)ले संविधानलाई निष्क्रिय बनाउन खोजेको आरोप लगाउनुभयो ।

संवैधानिक निकायमा अराजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले संविधान कार्यान्वयनका लागि संविधान संशोधन गरेर मधेसी मोर्चालाई सहमतिमा ल्याउनुपर्ने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts