Saturday, November 26, 2016

हिंसाविरुद्धको सोह्रदिने अभियानः ग्रामीण भेगका महिला अधिकारका बारेमा बेखबर

सिमा (जाजरकोट), ११ मङ्सिर । सिमा–१ की जयकुमारी विक अघिल्लो दिन बाँकी रहेको मकैको रोटी र नुन प्लास्टिकमा बेरेर बिहानै साँढे ५ बजे डोको बोकेर स्याउला ल्याउन जङ्गल लाग्नुभयो । जयकुमारीका श्रीमान् अघिल्ला दिनको मदिराको नशाले नछाडेका कारण बिहान ९ बजेसम्म ओच्छ्यानमै थिए । दुई छोरा र एक छोरी साना भएका कारण घरको खलोमा बसेर माटो खेलिरहेका थिए ।

भोक लाग्यो, जेई (आमा) भन्दै बच्चाबच्ची कराएको पस्टै सुनिन्थ्यो । मदिरा खाएर सुतेका बाबुको उठ्ने कुनै छाँटकाँट थिएन । बिहान काममा गएकी जयकुमारी स्याउला लिएर १० बजे फर्कनुभयो । अनि छोराछोरीलाई मकैको रोटी पकाएर खुवाउन थाल्नुभयो ।

उत्ता जयकुमारीका श्रीमान्को निन्दा खुलेलगत्तै पुनः मदिरा सेवन गरेर खाना बनाउन ढिला गरेको भन्दै श्रीमतीसँग झगडा गर्न थाले । मदिरामा लठिएका रामबहादुरलाई श्रीमती बिहान नुनसँगको रोटी कम्मर बेरेर स्याउला ल्याएर आएको कहाँ थाहा थियो र ? उल्टै खाना ढिलो बनाएको भन्दै झगडा गर्दा जयकुमारी भाग्यलाई सराप्दै रुदै बस्नुभयो ।

त्यस्तै खगेनकोट–२ का कालीबहादुर परियारले घरमा श्रीमती हुँदाहुँदै अर्को विवाह गरे । श्रीमती रतीकलाबाट दुई वटा छोरा छन् । रतीकला बहुविवाहको उजुरी दिएर न्याय पाउने कामभन्दा मेरो भाग्यमा यस्तै रहेछ, कसले सहयोग गर्छ हामीलाई, भन्दै श्रीमान्को धम्कीकाबीच घरमै बसिरहनुभएको छ । उहाँका श्रीमान्ले रतीकलाको नागरिकता, विवाह दर्ता, छोराछोरीको जन्मदर्तासम्म गरिदिएका छैनन् ।

यी त प्रतिनिधि घटना मात्र हुन् । जिल्लाका अधिकांश ठाउँमा यस्ता समस्याले जरो गाडेको प्रशस्त देख्न, सुन्न पाइन्छ । जिल्लाका ग्रामीण भेगका अधिकांश महिला अधिकारका विषयमा जानकारी नै नहुँदा दैनिक हिंसा बढिरहको भए पनि अत्याचार सहेर बस्नु पर्ने बाध्यता रहेको छ । हिंसापीडित अधिकांश महिलाका नागरिकता, विवाह दर्तासमेत श्रीमान्ले नगरिदिँदा कानुनी उपचार खोज्न लड्न निकै समस्या हुने गरेको अधिवक्ता प्रकाशकुमार शाहीले बताउनुभयो ।

छोराछोरी भइसके किन गर्नुप¥यो विवाह दर्ता, घाँस, दाउराको काम गर्ने महिलालाई किन चाहियो नागरिकता भन्ने जस्ता चिन्तनका कारण थप समस्या आएको पञ्चभयार मावि खगेनकोट–७ का शिक्षक वीरबहादुर खत्रीले बताउनुभयो ।

महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भएकोसमेत यहाँका महिला बेखबर छन् । सूचना, प्राविधिको पहुँच नभएका जाजरकोटका गाउँमा सदरमुकाम बाहेक अन्य ठाउँका महिलालाई १६ दिने अभियानका विषयमा जानकारी छैन । गाविस, जिल्ला सदरमुकाम, बजारमा समेत महिलाभन्दा पुरुष नै बढी खटिने र महिलालाई घरायसी काममा मात्र लगाउने भएका कारण महिलाले अधिकारको विषयमा जानकार नभएको अधिकारकर्मी पार्वती विकले बताउनुभयो ।

सङ्घ÷संस्थाले ग्रामीण क्षेत्रमा सञ्चालन गर्ने महिलाका कार्यक्रममा महिलालाई नपठाएर श्रीमान् नै जाने अनि श्रीमतीको नाम लेखेर आफैँ सही गरेर आउने चलनले गर्दा आफ्ना अधिकारका विषयमा महिला जानकारी पाउनबाट वञ्चित बनाइएको नायकवाडा–७ की महिला स्वयम्सेवी कृष्णकुमारी शाहीले बताउनुभयो । वर्षौंभरी काम मात्र गर्ने, नियमित सरसफाइ अनि पोसिलो खाना पनि नपाउने यहाँका ग्रामीण क्षेत्रका महिलाको जीवन पद्धति दयनीय रहेको छ । हेमन्त केसी/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts