पोखरा, २१ कात्तिक । गरिब, विपन्न एवम् असहाय वर्गको स्वास्थ्यमा पहुँच पु¥याउने उद्देश्यले पोखरा उपमहानगरपालिका–१७ स्थित पिपलतरा मार्गमा रु ४९ लाख ८१ हजारको लागतमा नगर स्वास्थ्य केन्द्र भवन निर्माण गरिने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीको रु ४४ लाख ८० हजार र रु पाँच लाख एक हजार बराबरको स्थानीय जनसहभागिता एवम् पोखरा उपमहानगरपालिकाको प्राविधिक सहयोगमा छ–कोठे पक्की भवन निर्माण गर्न लागिएको हो ।
व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले सो भवनको आज एक समारोहकाबीच शिलान्यास गर्नुभयो ।
उहाँले स्थानीय पहलमा गरिने विकास निर्माणका कार्य छिटोछरितो र गुणस्तरीय हुने बताउँदै सामाजिक विकास निर्माणका कार्यमा सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एकताबद्ध रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
सभापति अधिकारीले अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्रीजस्ता राज्यका प्रमुख कार्यकारी भूमिका प्रदान गर्नेगरी संविधान संशोधन गर्न नहुने बताउनुभयो । सांसद बिन्दा रानाले निर्माणाधीन स्वास्थ्य केन्द्र समाजमा उपचारको अभावमा समस्या झेलेका यस क्षेत्रका सर्वसाधारणले सहजरुपमा स्वास्थ्य सेवा लिनसक्ने बताउनुभयो ।
नगर स्वास्थ्य केन्द्र निर्माण समितिका अध्यक्ष प्रकाश रेग्मीको अध्यक्षतामा भएको समारोहमा पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष प्रकाशमोहन खनाल, पोखरा उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर शारदा मोहन काफ्ले, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली, नेकपा (एमाले) का वडा कमिटी अध्यक्ष सुभाष ढुङ्गाना, नेपाली काँग्रेसका देवी आचार्य, नेकपा (माओवादी केन्द्र)का मनुमाया केसीलगायतले बोल्नुभएको थियो । रासस
No comments:
Post a Comment