काठमाडौँ, २१ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले राजधानीका विभिन्न स्थानमा छठ पूजाका लागि सजाइएका नदी र तलाउमा पुगेर पूजाअर्चना गर्नुभयो ।
राष्ट्रपति भण्डारीले आज गौरीघाटस्थित वाग्मती नदी र कमलपोखरीमा पुगी त्यहाँ स्थापना गरिएको छठको प्रतीमामा पूजा गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो । त्यस्तै उपराष्ट्रपति पुनले पनि सूर्यको आराधना गरी मनाइने यस पर्वका अवसरमा आजै कमलपोखरी पुगी छठको प्रतीमा र तलाउमा पूजाअर्चना गर्नुभयो ।
केही वर्षदेखि राजधानीका विभिन्न स्थानका नदी र तलाउमा दुलही झंै सिङ्गारी छठ हर्षोल्लासपूर्वक मनाउने क्रम बढ्दै गएको छ । यस वर्ष पनि श्रद्धालुले पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गरेका छन् ।
आजै प्रधानमन्त्री दाहालले गौरीघाटस्थित वाग्मती नदी, रानीपोखरी र कमलपोखरीमा पुगी निर्माण गरिएको छठको प्रतीमामा पूजा गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो । आस्थाको पर्व छठअन्तर्गत आज तेस्रो दिन राजधानीका विभिन्न स्थानमा हजारौँ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्र्र्घ अर्पण गरी पूजाअर्चना गरेका छन् ।
यस पर्वमा भुसवा र कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानसँगै केराको घरी, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो आदि सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ दिइन्छ ।
तलाउ कुण्डमा सरसफाइ गरी बत्तीको झिलीमिली गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि गरिएको छ । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप पारस्परिक आत्मीयता र सद्भावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ । रासस
No related posts.
No comments:
Post a Comment