दाङ, २१ कात्तिक । स्थानीय तह र सिमाना निर्धारण गर्दा दाङमा १० वटा स्थानीय तह गठनको विकल्पसहित प्रस्ताव गर्ने निर्णय भएको छ ।
दुई उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिकालाई प्राथमिकता दिँदै १० स्थानीय तहसहितको प्रस्ताव गर्ने निर्णय गरेको स्थानीय विकास अधिकरी कुलबहादुर जिसीले जानकारी दिनुभयो ।
जिल्ला विकास समितिमा स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिसहित सर्वदलीय सर्वपक्षीय बैठकबाट उक्त १० स्थानीय तह रहनेगरी प्रस्ताव गर्ने निर्णय गरिएको हो । बैठकमा नेपाली काँग्रेसका प्रतिनिधिको भने उपस्थिति थिएन । नेपाली काँग्रेसले चार नगरपालिकासहित १२ स्थानीय तह बनाउनुपर्ने अडान राख्दै आएको छ । काँग्रेसले तयार पारेको प्रतावलाई पनि समेटेको जिसीको भनाइ छ ।
घोराही र तुलसीपुरलाई क्षेत्र बिस्तारसहित उपमहानगरपालिका, घोराही नगरपालिकाका लक्ष्मीपुर, रामपुर, सौडियार, धर्ना, सैघा गाविस र त्रिपुर नगरपालिकालाई समेटी उपमहानगरपालिका बनाउने तथा त्यसको केन्द्र घोराही राख्ने प्रस्ताव गरिएको छ । तुलसीपुर नगरपालिकामा बिजौरी, मानपुर, डुरुवा, फूलबारी र पवननगरलाई समेटी उपमहानगरपालिका बनाउने र नाम तथा केन्द्र पनि तुलसीपुर नै राख्ने तथा लमही नगरपालिकालाई यथावत् राख्दै सतबरिया गाविसलाई समेट्ने जिल्लास्तरमा निर्णय भएको छ ।
यसैगरी राजपुर र बेलालाई राजपुर गाउँपालिका र त्यसको केन्द्र जंग्रहवामा राख्ने प्रस्ताव गरेको छ भने गढवा, गङ्गापरस्पुर, कोइलावास र गोवरडिहालाई समेटी गढवा गाउँपालिका र केन्द्र गढवामै रहनेगरी प्रस्ताव गरेको छ । यस्तै लालमटीया, सिसहनिया र हाँसीपुरको वडा नं १ र २ लाई समेटी राप्ती गाउँपालिका बनाउँदै मौरीघाटमा केन्द्र राख्ने तथा हाँसीपुरको ३ देखि ९ वडा, लोहारपानी र स्युजालाई समेटी बङ्गलचुली गाउँपालिका बनाउँदै कमिरेचौरमा केन्द्र राख्ने प्रस्ताव गरिएको छ ।
यस्तै गोल्टाकुरी, हेकुली र श्रीगाउँलाई समेटी दङ्गीशरण गाउँपालिका बनाउने र केन्द्र श्रीगाउँको बागरमा राख्ने तथा शान्तिनगर, बाघमारे र धनौरीलाई समेटी शान्तिनगर गाउँपालिका बनाउँदै केन्द्र धनौरीको खैरेनीमा राख्ने निर्णय गरिएको छ । पुरन्धारा र पन्चकुलेलाई समेटी बबई गाउँपालिका बनाउने र केन्द्र हापुरेमा राख्ने प्रस्ताव गरिएको छ । जिल्लामा अहिले चार वटा नगरपालिका र ३१ वटा गाविस छन् । रासस
No related posts.
No comments:
Post a Comment