Tuesday, November 15, 2016

आगोले जलाएको ७४ वर्षीय वृद्धको सपना

चरिकोट (दोलखा), १ मङ्सिर । सरकारले दिएको रु ५० हजार र आफूले बनिबुतो गरेर जोहो गरेको सबै रकम आगोमा सल्किएर जलेपछि नयाँ र बलियो घर बनाउने सपना आगोमा जलेर सकिएको ७४ वर्षीय वृद्ध भीमबहादुर कार्की बताउँछन् ।

श्रीमतीको मृत्युपछि एक्लो जीवन बिताउँदै आएका दोलखाको उत्तरी गाविस लापिलाङ–९ का कार्की अहिले फेरि मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताउँछन् ।

“मरुँ काल आउँदैन, बाँचाँै बाँच्न मनै छैन, दैवले ठगेको मानिस भएर म कसरी बाँचुँ ?” यसरी बिलौना गर्छन् उनी । ३४ वर्ष अघि नै श्रीमतीको मृत्यु भएपछि एक्लो जीवन बिताउँदै आएका कार्कीको कात्तिक १९ गते जीवनभर कमाएर राखेको सबै सम्पत्ति आगोमा स्वाहा भयो भने घर बनाउन जोरजम्मा गरेको रु एक लाख १७ हजार नगद समेत खरानीमा परिणत भयो ।

उनी भन्छन्, कात्तिक १९ गतेदेखि आफूले एक छाक भात पनि राम्रो संग खाएको छैन । झलझली आफ्नो घर र सम्पत्ति जलेको त्यही दृष्य आँखामा आइरहने बताउँदै कार्कीले केही खान मनै नलाग्ने बताउँछन् ।

उनले घर जलेको दृष्य देख्दा बेहोस भएको बताउँदै पटकपटक त्यही आगोमा हाम फाल्न खोज्दा छिमेकीले बचाएको छिमेकी कृष्णबहादुर बस्नेतले बताए । आगलागीबाट आधा भाग बचेको रु ५० हजार रकम साट्न मिल्ने आशमा कार्की चरिकोटमा आए तर चरिकोटमा रहेका कुनै पनि बैंकले रकम साट्न नमानेपछि निरास हुँदै गाउँमा फर्किएका छन् ।

ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका कार्की अहिले कसैको घरमा काम गर्न समेत जाँदैनन् । उनी भन्छन्, घर जलेपछि सबै सपना जलेकाले काम गर्ने कुनै जोश जाँगर नै नभएको बताउँछन् । एक तलाको घर बनाउने इच्छा थियो, त्यही पनि अब आगोसँगै जलेर गएको बताउँदै बाँकी जीवन कसरी बिताउने भन्ने समस्याले बारम्बार सताउने गरेको बताउँछन् ।

कुनै मनकारी व्यक्तिले एक तलाको बस्ने घर मात्र बनाई दिएपनि आफ्नो एक्लो पेट त ज्याला मजदुरी नै गरेर भएपनि पाल्ने कार्कीको भनाइ रहेको छ । कार्कीको अन्तिम इच्छा भनेकै एकतले घर बनाएर बूढेसकालमा बस्ने रहेको बताएका छन् । उनले त्यो पनि आफू कमाएर बनाउन सक्ने अवस्थामा नभएको बताउँदै सहयोगीहातलाई अनुरोध गरेका छन् ।

उमेर ढल्क्यो बूढेसकालमा सुतेर खाने बेलामा बिजोगका दिन काट्नु पर्ने अवस्था आएको बताउँदै उनी आफू काल कुरिरहेको बताउँछन् । गोकर्णप्रसाद भण्डारी/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts