Tuesday, November 22, 2016

कार्यालय प्रमुखबाट दुई दिन पछाडिको हाजिर

काठमाडौँ, ७ मङ्सिर । राजधानीमा एक सरकारी कार्यालयका प्रमुखले दुई दिनअघि नै पछाडिको हाजिर गरेको भेटिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौँ, कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद दवाडीले त्यस्तो हाजिरी गरेको पाइएको हो । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहसहित सांसदको टोलीले विभागमा गत कात्तिक ३० गते स्थलगत अध्ययन तथा अनुगमन गर्दा दवाडीले यही मङ्सिर २ गतेसम्मको हाजिरी गरेको भेटिएको हो ।

अनुगमन टोली जाँदा सोही दिन समेत दवाडी कार्यालयमा अनुपस्थित रहेको सभापति साहले जानकारी दिनुभयो । सो दिन ३० कर्मचारी अनुपस्थित थिए । दुई दिन वा सोभन्दा बढी समयसम्म स्वीकृत नगराई अनुपस्थित हुने कर्मचारी १८ जना थिए । एक जना कर्मचारी त बिदा स्वीकृत नगराई १४ दिनदेखि अनुपस्थित थिए ।

अनुगमनसम्बन्धी समितिले आज समितिमा प्रतिवेदन प्रस्तुत गर्दै सेवाग्राहीबाट रकम सङ्कलन गर्न एभरेस्ट बैंक लिमिटेडको एउटा मात्रै काउन्टर कार्यालयमा हँुदा चार÷पाँच घन्टा लाग्ने भएकाले बहुबैंकिङ प्रणालीमा गई अन्य बैंक मार्फत पनि राजस्व सङ्कलनको व्यवस्था मिलाउने, व्यक्तिगत श्रम स्वीकृतितर्फ कागजात दर्ता गर्न काउन्टर थप गर्ने, व्यक्तिगत श्रम स्वीकृतिका निम्ति कागजात जाँच गर्ने कार्य दुई तहमा मात्रै सीमित गर्न सुझाव तथा निर्देशन दिएको हो ।

हाल प्रयोगमा रहेको सफ्टवेयरलाई विस्थापन गरी नयाँ सफ्टवेयर सञ्चालन गर्न, अनलाइनबाट फाराम सङ्कलन व्यवस्था मिलाउन, सूचना प्रविधिसम्बन्धी कर्मचारीको अभाव हुन नदिन, अरबी भाषा अनुवादकको सङ्ख्या बढाउन, कर्मचारी प्रशासन चुस्त दुरुस्त बनाउन तथा विद्युतीय हाजिरीको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।

प्रहरी प्रशासनको सहयोग लिई कार्यालयमा बिचौलिया र दलाललाई कारबाही गर्ने र कारबाहीमा परेकाको नाम कार्यालय परिसरमा सार्वजनिक रुपमा टाँस्ने व्यवस्था मिलाउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ ।

सङ्घीय संरचना अनुरुप सातै प्रदेशमा विभागको कार्यालयको स्थापना गरी श्रम स्वीकृतिसम्बन्धी कार्य विकेन्द्रित गर्न तथा बिदामा आएका कामदारलाई विमानस्थलबाटै पुनः श्रम स्वीकृतिको व्यवस्था गर्न निर्देशन दिएको छ । समितिले क्षतिपूर्ति सहितको नागरिक बडापत्र कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

यसैबीच समितिको आजको बैठकले चौकीदारका रुपमा वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति दिन लगाइएको रोक फिर्ता लिने निर्णय गरेको छ ।

समितिका सभापति साहले अन्य वैदेशिक रोजगारी संस्थामाथिको रोक हटाइए पनि ठगीको उजुरी परेका त्यस्ता संस्थालाई भने छानबिन नसकिएसम्म श्रम स्वीकृतिमा रोक यथावत् रहेको जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts