Thursday, December 1, 2016

नेपाली जनसम्पर्क समिति अमेरिकाको विवादमा सभापतिको मौनता आश्चर्यजनक 

न्यूयोर्क ।

नेपाली जनसम्पर्क समिति अमेरिकामा पछिल्लो समयमा देखिएको विवाद मिलाउनका लागि चौतर्फी दबाब आइरहँदा समेत समितिका सभापति आनन्द विष्टले यसप्रति गम्भीरता नदेखाएको भन्दै जनसम्पर्क समिति र विभिन्न च्याप्टरका पदाधिकारीहरुले आश्चर्य व्यक्त गरेका छन् । विशेष गरी सभापतिकै कार्यशैलीका कारण जन्मिएको विवाद र यसको निरुपणका लागि स्वयं पार्टीका शिर्ष नेताहरुले दिएको निर्देशनलाई समेत विष्टले पालना नगरी विवाद समाधानतर्फ पहल नगरेको भन्दै विष्टप्रति जनसम्पर्क समिति सम्बद्ध पदाधिकारी तथा शुभेच्छुकहरुले चिन्ता व्यक्त गरेका छन् । स्मरणीय के छ भने यो विवाद मिलाउन पार्टीका स्वर्गीय सभापति एवं तत्कालीन प्रधानमन्त्री शुशील कोइरालादेखि अहिलेका केन्द्रीय नेताहरुसम्मले पटक पटक जनसम्पर्क समितिको विवाद मिलाउन लिखित तथा मौखिक रुपमा निर्देशन दिइसकेका छन् । तर पनि यो निर्देशनलाई पालना गरिएको पाईँदैन । नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति अमेरिका भित्र पछिल्लो करिब डेढ वर्षयता विवाद चर्किँदै गएको छ । तर जनसम्पर्क समिति भित्रकै केही मध्यमार्गीहरुले यो विवाद मिलाउनका लागि व्यक्तिगत तथा सामूहिक पहल समेत नगरेका होइनन् । उनीहरुले पटक पटक विज्ञप्ति निकालेर नै यो विवाद मिलाउन नेतृत्वलाई आग्रह गरिरहँदा समेत विष्टले विवाद मिलाउनुको साटो यसलाई नसुनेझै गरेर अघि बढेको भन्दै जनसम्पर्क समिति र यसका विभिन्न च्याप्टरका पदाधिकारीहरुले दुःख व्यक्त गरेका छन् । केही समय अघि अमेरिकाको लस एन्जलसमा भएको एउटा बृहत नेपालीहरु सम्मिलित जनसम्पर्क समितिकै बनभोज कार्याक्रममा सभापति विष्टले विवाद मिलाउन आफूले पहल गर्ने उद्घोष गर्नुभएको थियो । तर अहिलेसम्म उहाँले यसतर्फ कुनै ठोस पहल गरेको नदेखिएको भन्दै असहमतिका स्वरहरु सुनिन थालेका छन् । विवाद छताछुल्ल भएपछि केही महिना अघि जनसम्पर्क समितिका बरिष्ठ उपाध्यक्ष धनञ्जयनरसिंह केसीले सार्वजनिक विज्ञप्ति नै निकालेर जनसम्पर्क समितिभित्र देखिएको विवाद तत्काल समाधान गर्नका लागि जनसम्पर्क समितिलाई सार्वजनिक रुपमा आग्रह समेत गर्नुभएको थियो । त्यस क्रममा उहाँले आफू विवाद समाधानका लागि मध्यस्तकर्ताको भूमिका समेत निर्वाह गर्न तयार रहेको बताउनुभएको थियो । दोश्रोपटक केही साता अघि पनि उहाँले फेरि अर्को विज्ञप्ति मार्फत् यसलाई मिलाएर अघिबढ्न पुनः आह्वान गर्नुभएको छ । यस्तै जनसम्पर्क समिति कै अन्य पदाधिकारी तथा कार्यसमितिका केही पदाधिकीहरुले पनि यो विषयमा निरन्तर रुपमा आवाज उठाई रहेको भएपनि अमेरिका जस्तो मुलुकमा रहेको लोकतान्त्रिक पार्टीको प्रवासी संगठनका सभापतिले विवाद मिलाउनुको सट्टा आँखा चिम्लने प्रवृत्ति देखाउनुका पछाडिका कारणहरुको बारेमा भने धेरैले जिज्ञासा राखेका छन् । विष्टले नचाहेर यो विवाद मिलाउन नसकिएको हो या पर्दा पछाडि यसलाई मिलाउन हुँदैन भन्ने कोही छन् भन्ने गम्भीर प्रश्न पनि यो विवादले निम्ताइएदिएको जनसम्पर्क समितिका केही पदाधिकारीहरुको भनाई छ । जनसम्पर्क समितिका सभापति एवं यो विवाद देखिएपछि यसलाई मिलाउन लाग्नुपर्नेमा अन्य पदाधिकारी तथा कार्यसमितिका साथीहरुले पटक पटक आग्रह गर्दा र अमेरिकाकै अन्य राज्यमा रहेको च्याप्टरका सभापति तथा पदाधिकारीले लिखित, मौखिक तथा अनौपचारिक भेटघाटमा यो विषयमा कुरा उठाउँदा समेत सभापति विष्टले गम्भीरता नदेखाएको बताइन्छ । नेपाली काँग्रेस जस्तो प्रजातान्त्रिक विचार बोकेको र मेलमिलाप जस्तो पवित्र नीति अंगिकार गर्ने विश्वेश्वरप्रसाद कोइरालाको आदर्शलाई बोकेर अघि हिडेको दाबी गर्ने पार्टीको प्रवासी संगठन भित्रको यो बेमेलले यतिबेला लोक हँसाएको भन्दै सच्चा काँग्रेसीहरुले यो घटनाले आफूहरुलाई लज्जबोध गराएको गुनासो गर्न थालेका छन् । त्यसैले अझै पनि यो विवाद मिलाएर अघि बढ्न र जनसम्पर्क समितिभित्र देखिएका असहमतिको समाधान खोज्न सबैले गम्भीरतका साथ काम गर्नुपर्ने सुझाव दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts