Sunday, December 25, 2016

पर्यटकीय महत्वको रामघाट क्षेत्र–ओझेलमा चुरे पहाड दोहन

रामपुर (पाल्पा), १० पुस । पौराणिक कथासँग गाँसिएको रामघाट क्षेत्रको पर्यटकीय विकासमा चासो नदिंदा त्यसको महत्व नै ओझेलमा परेको छ ।

रामपुर नगरपालिका– ८ स्थित कालीगण्डकी नदीको किनारमा अवस्थित रामघाट क्षेत्रमा पर्यटकीय विकासको संभावना रहेपनि प्रचारप्रसारको अभावमा यसको महत्व नै गुम्दै गएको हो ।

पौराणिककालमा भगवान् रामले वनबास जाँदा बास बसी दिनहुँ नुहाएर पाठ–पूजा गरेकाले यस घाटको नाम रामघाट रहन गएको र यहाँ ऋषिहरुले यज्ञ गरेको धार्मिक किम्बदन्ती छ ।

विसं १८७० को समयतिर सोही स्थानमा बसोवास गर्नुभएका स्थानीय तुलसीराम रेग्मीलाई राति सपनामा भगवान रामले रामघाट क्षेत्रमा लक्ष्मीनारायण मन्दिर स्थापना गरेर दिनहुँ पूजा गर्न निर्देश गरेपछि विसं १८८९ मा लक्ष्मीनारायण मन्दिर स्थापना गरिएको हो । सो मन्दिर स्थापना गरेपछि रेग्मी परिवारको निगरानीमा नियमित पूजा हँुदै आएको छ ।

पौराणिक महत्व बोकेको यस क्षेत्रमा टाढाटाढाबाट दर्शन तथा अवलोकन गर्नेको ठूलो भिड लागेपनि पछिल्लो समय भने यसको महत्व ओझेलमा पर्दै गएको स्थानीयवासी ओमप्रकाश रेग्मी जानकारी दिनुभयो ।

रामघाट क्षेत्रको महत्व र विकासलाई अगाडि बढाउन यहाँका स्थानीयवासीको सक्रियतामा लक्ष्मीनारायण मन्दिर जीर्णोद्वारका साथै धर्मशाला, पूजारी कोठा, मन्दिर प्रवेशद्वार खानेपानी ट्याङ्की, सत्तल र चौतारी निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताउनुभयो ।

बाटोको समस्याले पनि यसको ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व ओझेलमा पर्दै गएको उहाँको भनाइ छ ।

पर्यटकीय आकर्षण बढाउन यहाँ विभिन्न जातका आँप, लिची, कटहर ,फलफूलका बिरुवा पनि रोपिएको छ ।
यस क्षेत्रलाई रामपुर नगरपालिकाले १० औँ पर्यटकीय क्षेत्रको रुपमा समेटेको र गतवर्ष रु एक लाख ५० हजार खानेपानी निर्माणका लागि उपलब्ध गराएको नगरपालिकाका कार्यकारी अधिकृत थानेश्वर पराजुलीले बताउनुभयो ।

अर्थ मन्त्रालयबाट रु दुई लाख, विभिन्न व्यक्ति तथा समूहबाट रु एक लाख ५० हजार रकम सहयोग प्राप्त भएको थियो ।

यस क्षेत्रमा रामगुफासहित सातवटा गुफा छन् । झन्डै एक सय रोपनी क्षेत्रफलमा फैलिएको रामघाट क्षेत्रको भौतिक पूर्वाधारको व्यवस्था र यहाँसम्म पुग्ने मोटरबाटो बनाउन सके पर्यटकीय गन्तव्यको आकर्षणस्थल बन्ने अपेक्षा गरिएको छ ।

बस्ती नै उठाउने गरी चुरे पहाड दोहन

जिल्लाको चुरे क्षेत्र अन्तर्गत ज्यामिरे गाविसको भुटुकेमा बस्ती नै उठाउने गरी चुरे पहाडको दोहन अघि बढेको छ ।

ढुङ्गै ढङ्गाले बनेकोे ज्यामिरेको वडा नं ३ का ३१,४ का ५६ र ६ वडाका ४८ घरपरिवारलाई भू माफियाले प्रलोभन देखाएर त्यहाँबाट चुनढुङ्गा उत्खनन् गरी नवलपरासीको बेनीमणिपुरस्थित हङ्सी सिमेन्ट उद्योगका लागि कच्चापदार्थ लैजान लागेको स्थानीयवासीको गुनासो छ ।

राजनीतिक पार्टीका जिल्लास्तरीय नेतादेखि कार्यकर्तासम्मले विगत एक वर्षदेखि नै कम मूल्यमा जमिन छाड्न आफूहरुलाई दबाब दिइरहेको त्यहाँका बासिन्दा बताउँछन् ।

दशकिलोमिटर क्षेत्रमा चुनढुङ्गा रहेको भुटुकेमा झन्डै एकसय वर्षसम्म उत्खनन् गर्न सकिने चिनीयाँ प्राविधिक अध्ययन टोलीले प्रतिबेदन छ । स्थानीयवासीको समन्वयबिना ढुङ्गा परीक्षणका लागि गाउँमा सो टोलीले ठूला÷ठूला ड्रिल गर्ने मेसिन लिएर ढुङ्गा परीक्षण गरिरहेको र आफूहरुलाई दबाब दिएर बस्ती खाली गर्न भनेपछि परीक्षणका लागि चाहिने पानी पनि नदिएको स्थानीय मनकुमारी आलेले बताउनुभयो, “कहिले सर्वेक्षणगरियो, कसले अनुमति दियो, आफूहरुलाई केही पत्तो भएन।” उहाँले भन्नुभयो
कम्पनीका प्रतिनिधिले गाउँका केही टाठाबाठा व्यक्तिलाई केही रकम मासु मदिरामा झुलाएपछि सबै काम बिग्रिएको हो । सो उद्योगका लागि आवश्यक चुनढुङ्गा उत्खनन् गर्ने खानी तथा भूगर्भ विभागबाट अनुमति लिएका दीपक झासँग कहिल्यै सम्र्पक नभएको स्थानीयवासी गङ्गाबहादुर सारुले बताउनुभयो ।

उत्खनन् गर्ने कम्पनीको टोलीले २०६०÷०६१ सालमा आकाश मार्गबाट सर्वेक्षण गरेको थियो । कम्पनीका केही व्यक्तिले रातिको समयमा आफू अनुकूलका र सोझा व्यक्तिलाई वनभोजको बाहानामा बारीको मूल्य रु ७० हजार प्रतिरोपनी दिने निर्णय गरे पनि स्थानीयवासीले भने गाउँ छाड्नै परेमा प्रतिरोपनी रु सात लाख मूल्य माग गरेका छन् ।

कम्पनीले उद्योग स्थापना हुने क्षेत्रमा शौचालय र चापाकलसहितको चार कोठो पक्की भवन निर्माण गरिदिने र रोजगारी दिने मौखिक आश्वासन दिएर भ्रममा पार्न खोजेको सङ्घर्ष समितिका संयोजक मानबहादुर सारु बताउँनुहुन्छ ।

“जमिनमाथिको आफ्नो स्वामित्व बचाई पाउँ भनेर स्थानीयवासी प्रशासन समक्ष पटक÷पटक लिखित मौखिक गुहार मागिसकिएको र पटक पटक गाउँमा छलफल भए, कम्पनीका प्रतिनिधि कहिल्यै आएनन् दलाल मात्र आए”सारुले भन्नुभयो ।

सिमेन्ट उद्योगका प्रबन्धक लेखनाथ अर्यालले जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरी ज्यामिरेको भुटुकेमा दुई हजार ५०० रोपनी जमिन स्थानीय प्रशासनमार्फत अधिग्रहण गराउन माग गर्नुभएको बताइएको छ ।
जिल्लाको कूल भू–भागमध्ये १८ प्रतिशत भू–भाग चुरे क्षेत्रले ओगटेपनि हालसम्म सबै ठाउँको चुरे दोहन भइसकेको र तटीय क्षेत्रमा बसोवास गर्नेलाई निकट भविष्यमा ठूलो खतरा हुने हुँदा दोहन रोक्नुपर्ने माग पनि स्थानीय स्तरमा उठेको छ । सुशिला रेग्मी/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts