Friday, December 9, 2016

अन्तर्राष्ट्रिय लगानी सम्मेलन फागुनमा

काठमाडौँ, २४ मङ्सिर । अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल उपयुक्त गन्तव्य हो भन्ने विश्वास दिलाउन आगामी फागुन १९ र २० गते काठमाडौँमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हुने भएको छ ।

सम्मेलन निर्देशक समितिका अध्यक्ष तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा आज सिंहदरबारस्थित उद्योग मन्त्रालयमा भएको बैठकले काठमाडौँमा मुलुकका विभिन्न क्षेत्रमा गर्न सकिने लगानीका अवसर र सम्भावनाका विषयमा दुईदिने लगानी सम्मेलन गर्ने निर्णय गरिएको हो ।

सो अवसरमा मन्त्री जोशीले राजनीतिक प्रतिबद्धतासहित प्रशासनिक तथा कानुनी संरचनाका बारेमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई विश्वास दिलाउन सम्मेलनको तयारी गरिएको बताउनुभयो ।

मुलुकमा दीर्घकालीन आर्थिक समृद्धि र त्यसका लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक भएको बताउँदै उहाँले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायलाई लगानीको सुरक्षा हुन्छ भन्ने सन्देश दिन खोजिएको बताउनुभयो ।

उद्योगमन्त्री जोशीले भन्नुभयो–“लगानी सम्मेलनमा सबै राजनीतिक दलका नेताले अन्तर्राष्ट्रिय समुदायलाई लगानी सुरक्षामा प्रतिबद्धता जनाउनेछन्, त्यसले अन्तर्राष्ट्रिय समुदायमा विश्वासको वातावरण बन्छ ।”

उहाँले सन् २०३० सम्म नेपालको आर्थिक अवस्था कस्तो हुन्छ भन्ने स्पष्ट चित्र प्रस्तुत गरिने जानकारी दिँदै सम्मेलन अगाडि वैदेशिक लगानीका लागि आवश्यक पर्ने कानुनी संरचना तयार गरिसक्ने तयारीमा आफ्नोे मन्त्रालय रहेकाले यस कार्यमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गर्नुभयो ।

सम्मेलनमा ऊर्जा तथा पूर्वाधार, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, वित्तीय क्षेत्र, खानी तथा खनिज र कृषि प्रशोधन तथा उद्योगका क्षेत्रमा छलफल गरिने छ । उक्त सम्मेलनमा नेपालमा लगानी गर्दै आएका उन्तर्राष्ट्रिय कम्पनी तथा विश्वका स्थापित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई निम्ता गरिँदैछ ।

नेपालको लगानीका अवसर उपयोग भन्ने मुख्य विषयमा रहेको सम्मेलनमा ३०० जना अन्तर्राष्ट्रिय लगानीकर्ताको सहभागी रहने सरकारले अपेक्षा गरिएकोे छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts