नेपालगन्ज, २३ मङ्सिर । सिँचाइ मन्त्री दीपक गिरीले मुलुकका सबै राजनीतिक दललाई मुलुक र जनताप्रति जिम्मेवार हुन आग्रह गर्नुभएको छ ।
नेपाल प्रेस युनियन, बाँकेद्वारा आज बिहान यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घीय प्रदेशको विषयलाई अनाहकमा उचालेर जनतालाई भड्काउने काम राजनीतिक दल र तिनका नेताहरुले गर्नु शोभनीय नभएको बताउनुभयो ।
“प्रदेशको बाँडफाँड प्राविधिक विषय मात्र हो, यसले मुलुकको विखण्डन हुन लाग्यो भनेर हल्ला चलाउनुको कुनै तुक छैन, हामी सबैको अधिकार संविधानले सम्बोधन गरेकाले जो जहाँ बसे पनि कसैमाथि अन्याय हुँदैन भन्ने कुरा बुभ्mनुपर्छ” – उहाँको भनाइ थियो ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा मन्त्री गिरीले अहिले भइरहेका आन्दोलनले निकास नदिने भएकाले सहमतिको वातावरण बनाउन पनि आन्दोलन तत्काल रोकिनुपर्छ भन्नुभयो ।
अर्को प्रसङ्गमा उहाँले मुलुकका राष्ट्रिय गौरवका सिँचाइ योजनालाई थप व्यवस्थित बनाउन त्यसमा आएका बाधालाई हटाउने गृहकार्य भइरहेको बताउनुभयो । रासस
No comments:
Post a Comment