दमौली, २ पुस । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको संशोधन नभई जारी संविधानलाई कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) तनहुँद्वारा शनिबार दमौलीमा आयोजित संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानसम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले ९० प्रतिशत जनताले बनाएको संविधानलाई केही व्यक्तिले नरुचाउँदैमा संशोधन आवश्यक नरहेको बताउनुभयो ।
संविधानका विशेषता जनतालाई बुझाई यही संविधानको कार्यान्वयनका लागि अगाडि बढ्न उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । “जारी संविधान विधि, प्रक्रिया र अन्तरवस्तुका हिसाबले पनि लोकतान्त्रिक छ,” उहाँले भन्नुभयो ।
संविधान संशोधनको पक्षमा दर्ता भएको विधेयकविरुद्धको आन्दोलन जारी राख्न र निर्वाचनका लागि सरकारलाई दबाब दिन उहाँले जोड दिनुभयो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य जगत् विश्वकर्मा, केन्द्रीय सल्लाहकार सदस्य खगराज अधिकारी, वैकल्पिक केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, सांसद टुकराज सिग्देललगायतले एमालेको नेतृत्वमा बनेको सरकारले गरेका जनहितका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । रासस
No related posts.
No comments:
Post a Comment