Thursday, December 1, 2016

योजना समयमा सम्पन्न गर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौँ, १६ मङ्सिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले तोकिएको योजना समयमा सम्पन्न हुन नसक्नुका कारण तत्काल पेस गर्न मन्त्रालय मातहतका महाशाखा प्रमुखलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित महाशाखा प्रमुख तथा उपसचिवको संयुक्त बैठकमा मन्त्री पाण्डेले मन्त्रालय मातहत ४० हजार बढी योजना भए पनि कार्यान्वयन एकदमै कमजोर भएकाले किन त्यस्तो भएको हो भन्ने तत्काल जानकारी गराउन र समाधान उपायसमेत सुझाउन निर्देशन दिनुभएको हो ।

स्थानीय तहमा रहेका अधिकांश आयोजनामा आर्थिक अनियमितता, भ्रष्टाचार तथा अपारदर्शी क्रियाकलाप भएको भन्ने जनगुनासो व्याप्त भएकाले त्यसलाई समाधान गर्न नसके तथा आयोजना जस्ताकोतस्तै रहने अवस्था रहे विभागीय प्रमुखलाई समेत कारबाहीको दायरामा ल्याउने मन्त्री पाण्डेको भनाइ थियो ।

यस्तै भए÷गरेका विकास निर्माणका काममा समेत गुणस्तर नभएको, राज्य कोषको दुरुपयोग भएको तथा अनावश्यक रुपमा परियोजनाको लागत र समय बढाउने कुरा सरकारलाई ग्राह्य नभएको भन्दै मन्त्री पाण्डेले जनताको जीवनस्तरसँग जोडिएको विकास निर्माणमा खेलाची गर्ने जो कोही पनि सजायको भागिदार हुने बताउनुभयो ।

सरकारले भूकम्प प्रभावित १४ जिल्लामा गाविस सचिव पठाउने निर्णय विगतमा गरे पनि हालसम्म सचिव पुग्न नसक्नु दुःखद रहेको भन्दै मन्त्री पाण्डेले जुनसुकै निकायमा रहेका भए पनि खरिदार र नायब सुब्बालाई पठाउने व्यवस्था गर्नसमेत मन्त्री पाण्डेले विभागीय प्रमुखलाई निर्देशन दिनुभयो ।
यस्तै ७५ वटै जिल्लामा जिल्ला प्राविधिक कार्यालयमा प्रयोगशाला स्थापना गरेर विकास निर्माणका कामको प्राविधिक परीक्षण गर्ने निर्णयसमेत आजको बैठकले गरेको मन्त्री पाण्डेका सल्लाहकार माधव सापकोटाले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts