Tuesday, January 24, 2017

विप्रेषणले बस्तीको स्वरुप फेरियो

लहान, ११ माघ । सिरहाको गोलबजार नगरपालिका– ११ बलक्वाका मो कुदुस हारुनलाई अहिले इँटाको पक्की घर बनाउने चटारो छ ।

केही वर्षअघिसम्म पुरानो फुसको घरमा जसोतसो दिन काट्दै आएका हारुनलाई वैदेशिक रोजगारमा रहेका छोराले पठाएको पैसाबाट नयाँ पक्की घर बनाउन चटारो भएको हो ।

नयाँ घर बनाउन इँटा, गिटी, बालुवा र रडजस्ता आवश्यक सामग्रीको जोहोसमेत गरिसक्नुभएका कुदुस भन्नुहुन्छ– “घरको जग खन्ने काम भईसकेको छ, अब बाँकी काम हुन्छ ।” घर बनाउने कामदार र मजदुरले काम शुरु नगरेकाले मात्र घर निर्माणमा केही ढिलाई भएको हो, उहाँ भन्नुहुन्छ–“ नत्र माघको पहिलो सातासम्ममा घरको काम सकिसक्थ्यो ।” हारुनको ५ छोरामध्ये तीनजना अहिले बैदेशिक रोजगारको क्रममा साउदी अरबमा छन् । तीनवटै छोराले कमाएर पठाएको पैसाबाट घर बनाउन लागेको हारुनको भनाइ छ ।

छोराहरुले नै बैदेशिक रोजगारीबाट पठाएको रकमबाटै पाँचकोठे पक्की घर बनाईसकेका सोही ठाउँका मो. कुदुस भने अब गाउँमा थोरै भएपनि जग्गा खरिद गर्ने सोचमा हुनुहुन्छ । उहाँ भन्नुहुन्छ–“ घर बनाईसके, अब गाउँमा केही जग्गा जमिन खरिद गर्ने सोचमा छु ।” केही बर्षअघिसम्म निम्न वर्गीय परिवारका रुपमा चिनिने कुदुसको परिवार अहिले गाउँमा हुने खाने परिवारको रुपमा समेत पहिचान बनाउन सफल भएको छ् ।

यस्तै कुनै बेला परिवारको दुई छाक टार्न हम्मे हुने बलक्वाकै जिब्रिल मियाँलाई पनि बैदेशिक रोजगारले यो समस्याबाट मुक्ति दिलाएको छ । करिब ४ बर्षअघि साहु महाजनबाट ऋण लिएर बैदेशिक रोजगारमा गएका मियाँले बिदेशमै कमाएर अहिले परिवारलाई सम्पन्न रुपमा अघि बढाईरहेका छन् । बैदेशिक रोजगारबाट दुई महिनाअघि मात्र घर फर्किनुभएका मियाँ भन्नुहुन्छ–“ बिदामा आएको छु, फेरी कमाउन बिदेश जान्छु ।” उहाँकै कमाईबाट अहिले एउटा छोरा र एक छोरी गाउँ नजिकैको बोर्डिङ्ग स्कुलमा पढ्दै छन्, मियाँकी श्रीमती हसिना खातुन भन्नुहुन्छ–“ श्रीमान्को कमाईले अहिले हाम्रो जीवन नै फेरिएको छ ।”

अहिले उहाँहरुको मात्र होईन्, सिंगो बस्तीकै स्वरुप फेरिएको छ । फुसै फुसको घर देखिने बस्तीमा अहिले पक्की घर देखिन थालेको छ । एक दशकअघिसम्म गरिब, बिपन्न र भूमिहिन सुकुम्बासीहरु समेत बैदेशिक रोजगारका कारण अहिले सम्पन्न बनेका हुन् ।

बैदेशिक रोजगारकै कारण सिरहा जिल्लामा अचेल दैनिक रु. एक करोड भन्दा बढी रेमिट्यान्स भित्रिने गरेको अनुमान छ । कामको सिलसिलामा छिमेकी मुलक भारत तथा खाडी मुलुकका विभिन्न देशमा गएका सिरहाका युवाले मनि ट्रान्सफरमार्फत दैनिक करिव रु. एक करोड रकम पठाउने गरेका छन् ।

रोजगारीमा गएका आफन्तले पठाएको रकम लिन सदरमुकाम तथा लहानस्थित मनि ट्रान्सफरका शाखामा दैनिक भीडभाड हुने गरेको छ । सामान्य अवस्थामा सदरमुकाम तथा लहानमा खोलिएका विभिन्न मनि ट्रान्सफरका शाखाबाट अहिले दैनिक रु.एक करोड भन्दा बढी रकम जिल्ला भित्रिने गरेको लहानस्थित सोनु मनि ट्रान्सफरका सञ्चालक गौरी साह बताउनुहुन्छ ।

तेस्रो मुलुक मलेसिया, कतार, दुबई, साउदी, ओमन, कोरिया, इराक तथा इरोपियन मुलुकबाट सबैभन्दा बढी रकम आउने गरेको उहाँको भनाइ छ । जिल्लाबाट बैदेशिक रोजगारमा जाने युवाको संख्या बढ्ेपछि सिरहाका आधा दर्जन स्थानमा अहिले मनि ट्रान्सफर खुलेका छन् ।

सिरहाको बिभिन्न स्थानमा प्रभु मनि ट्रान्सफर, बेस्टर्न यूनियन मनि ट्रान्सफर, आइएमई, हिमाल रेमिटल, कृषि प्रमुरा, सनराईज मनि ट्रन्सफर, सिद्धार्थ रेमिट लगायत एकदर्जन भन्दा बढी ट्रान्सफरका शाखा तथा जिल्लामा स्थापना गरिएका समुदायिक सहकारी संस्थामार्फत समेत रेमिट्यान्स भित्रिने गरेको छ । जिल्लाबाट करिब डेढ लाख भन्दा बढी युवाहरु बैदेशिक रोजगारमा रहेको अनुमान छ । राजु विश्वकर्मा/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts