काठमाडौँ, १३ माघ । युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले खेलकुदक्षेत्रभित्रका समस्या निरुपण गर्न आफू लागिपरेको बताउनुभएको छ ।
व्यवथापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिको आज बसेको बैठकमा उहाँले ओलम्पिक कमिटीको विवादलाई सुल्झाइ १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता नेपालमा नै सञ्चालन गर्ने बताउनुभयो ।
मन्त्री श्रीपाइलीले ओलम्पिक कमिटीको विषयमा सर्वोच्च अदालतले जे फैसला गरेको छ त्यही मान्य हुन्छ भन्दै खेल क्षेत्रलाई व्यवस्थित गर्नका लागि स्पोटर्स अस्पताल, खेलकुद विश्वविद्यालय निर्माण गर्ने कार्यको तयारी भइरहेको बताउनुभयो ।
त्यस्तै बैठककी सभापति रञ्जुकुमारी झाले देशको महत्वपूर्ण पहिचान खेलकुद भएकाले यसभित्र भएका समस्यालाई तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
त्यस्तै सांसद राजेन्द्र पाण्डले सङ्घीय संरचनालाई व्यवस्थापन गरी प्रत्येक प्रदेशमा खेलकुद गतिविधि गर्नुपर्ने उल्लेख गर्दै संविधान कार्यान्वयन गर्नका लागि पनि खेलकुद गतिविधि गर्दा विकास क्षेत्र नभनी प्रदेश भन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सांसद आशा कोइरालाले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने उपयुक्त माध्यम खेलकुद भएकाले खेलकुदभित्र भएका समस्यालाई तत्काल समाधान गरी अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
सांसद रत्नदेवी गुरुङले महिला सशक्तीकरणका लागि खेलकुद क्षेत्रमा महिला खेलाडीको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपालमा हुने भनिएको १३ औँ सागमा २६ खेल समावेश गर्ने बताउँदै पाँच खेल पोखरामा र बाँकी २१ खेल काठमाडौँमा गर्ने प्रस्ताव राखेको जानकारी दिनुभयो ।
मन्त्रालयले समयमा नै बजेट निकासा नगर्दा भरखरै सम्पन्न सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा केही कमीकमजोरी भएको हुँदा १३ औँ सागको तीव्र तयारीका लागि पनि समयमा नै रकम निकासा गर्न उहाँले माग गर्नुभयो ।
ओलम्पिक कमिटीको विवादका विषयमा सदस्य सचिव विष्टले जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटी राखेपमा आबद्ध भएको हुँदा राखेपले श्रेष्ठलाई नै मान्यता दिँदै उहाँको रोहबरमा काम गर्दै आएको छ भन्नुभयो ।
यता सर्वोच्च अदालतले गौरव शमशेर राणा अध्यक्ष रहेको ओलम्पिक कमिटीका पक्षमा फैसला गरेको थियो । रासस
No comments:
Post a Comment