Tuesday, January 3, 2017

सत्रवर्षदेखि थला परेका अमरको उपचारमा सहयोग

जाजरकोट, १९ पुस । उपचारको अभावमा १७ वर्षदेखि थला परेका जाजरकोटका अमर आग्रीको उपचारका लागि बेलायतबाट सहयोग जुटेको छ । सुकुम्वासी परिवारका अमरको आर्थिक अभावका कारण उपचार हुन नसकेको खबर राससबाट समेत सार्वजनिक भएपछि बेलायतमा रहेका नेपाली दम्पतीले रु २० हजार सहयोग गरेका हुन् ।

सो रकम मंगलबार जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले परिवारलाई हस्तान्तरण गर्नु भयो ।

म्याग्दी घर भई बेलायतमा बस्ने खेम शेरचन र गीता गिरी शेरचनले अमरलाई उपचारमा सहयोग पुगोस् भनेर सहयोग गरेको बताउनु भएको छ ।

जन्मेदेखि नै हातखुट्टा नचल्ने, कान नसुन्ने र बोल्न नसक्ने अमर १७ वर्षदेखि ओछ्यानमा थला परेका छन् । परिवारका सदस्यले अमरलाई खाना र दिसापिसाब गर्ने समयमा ध्यान नदिए उनी आफ्नै ओछ्यानमा दिसापिसाबसँगै पल्टिरहेका हुन्छन् ।

उनको हेरचाह बाबुआमाले गर्दै आएकामा आमाको मृत्युपछि झन् समस्यामा परेका छन् । उनलाई दैनिक खुवाउने खाना पनि झिँगाले फोहरैफोहर बनाएको हुन्छ । अरूको सहारामा खाना खाने अमरले भोक लाग्दा खाना र तिर्खा लाग्दा पानी समयमा पाउन सक्दैनन् ।

अमरका बाबु जने आग्रीले आर्थिक अभावमा अमरलाई धामीझाँक्रीबाहेक उपचारमा अन्यत्र कतै लैजान नसकेको बताए । अमरसहित घरमा जनेका चार छोरा र पाँच छोरी छन् ।

जनेको परिवार सार्वजनिक ठाउँमा खरले छाएको सानो टहरोमा बसिरहेका छन् । जनेले सरकारले वितरण गरेको हलिया परिचयपत्र पाएका छन् तर सरकारी सहयोग पाउन सकेका छैनन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts