Saturday, January 28, 2017

रावणको यज्ञकुण्डमा अलपत्र राष्ट्रियसहिद स्मारक

गोकर्णेश्वर (काठमाडौँ), १५ माघ । सहिद दिवस एवम् अन्य राष्ट्रिय उत्सवमा श्रद्धाञ्जलि अर्पण गर्न प्राथमिकता प्राप्त आयोजनाका रुपमा सरकारले नै निर्माण गर्न लागेको गोकर्णको राष्ट्रियसहिद स्मारक अलपत्र बनेको छ ।

मुलुकमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि जीवन अर्पण गर्ने सहिदको सम्झनामा शान्ति तथा पुनःनिर्माण मन्त्रालय अन्तर्गत निर्माण भइरहेको सहिद स्मारक निर्माण सम्पन्न हुनुपर्ने समय दुई वर्ष बितिसक्दा पनि अलपत्र बनेको हो ।
स्मारक अलपत्र बन्दा राष्ट्रि«यसहिद दिवसको मूल समारोह गर्ने स्थानको समेत अभाव छ । विसं २०६२÷६३ को जनआन्दोलन अघि सहिदगेटमा गरिँदै आएको सहिद दिवस मूल समारोहको कार्यक्रम चार सहिदमाथि राजा त्रिभुवनको सालिक भएको भन्दै गर्न छोडिएको छ ।

स्मारक निर्माणको निर्णय गर्दा सरकारका मन्त्री एवम् शीर्ष नेताले चार सहिदको सालिक गोकर्णमा स्मारक निर्माण भएपछि राख्ने घोषणा गर्दै आउनुभएको थियो ।

लोकतन्त्र, शान्ति र राष्ट्रिय एकताका लागि भन्ने मूलनाराका साथ सहिदको बलिदानीलाई चिरस्थायी र सदा ताजगी राख्नका लागि मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ र मन्त्रिपरिषद् सामाजिक समितिको २०६४ साल जेठ २८ को बैठकको निर्णयअनुसार गोकर्णमा राष्ट्रियसहिद तथा शान्ति र निजामती स्मारक निर्माण गर्ने निर्णय भएको थियो ।

यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा सहिदका नाममा मन्त्रालयको द्वन्द्वोत्तर शान्ति तथा पुनःनिर्माण परियोजना अन्तर्गत स्मारक निर्माण भइरहे पनि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण काम सम्पन्न हुन नसकेको स्मारक निर्माण कार्यदल कार्यसम्पादन समितिका अध्यक्ष सुदर्शन सिग्देल बताउँनुहुन्छ ।

“विस्तृत आयोजना प्रतिवेदन अनुसार स्मारक सञ्चालन आरम्भ २०७१ वैशाखमा हुनुपथ्र्यो, स्मारकका सबै निर्माण २०७२ चैत मसान्तमा सकिनुपथ्र्यो, तर प्राथमिकता प्राप्त आयोजनाको काम सकिनुपर्ने समयमा आधा पनि भएन, अहिले भने कामले केही गति लिएको छ”–उहाँले भन्नुभयो ।

स्मारक यज्ञडोल (जगडोल) सामुदायिक वन गोकर्णको विस्तृत आयोजना सारांश बमोजिम निर्माणको काम डाँफे÷गौरी, पर्वत÷सुनौला खिम्ती जेभी, बोखिम कन्स्ट्रक्सन शान्ति निर्माण सेवा, सूर्य, आबि, जनपथ,जेभी र चक्रेश्वरी, सूर्यजीवन जेभीका निर्माण व्यवसायीलाई छनोट गरी विसं २०६८ देखि निर्माण सुरु भएको थियो ।

स्मारकको काम नेपालमै पहिलो पटक नमुनाका रुपमा सरकार, समुदाय र निजी साझेदारीमा भइरहेको छ । यो नमुना अनुसार पहिलोपटक ठूलो आयोजना साझेदारीमा सञ्चालन गर्न लागिएको हो ।

सामुदायिक वनभित्र गुरुयोजना अनुसारको भौतिक संरचना निर्माण गर्दा रुख काट्ने निर्णय गर्न एकवर्ष लागेकाले पनि काम ढिला भएको निर्माण व्यवसायीको भनाइ छ ।

स्वीकृत गुरुयोजनामा निर्दिष्ट बाँकी काम र मन्त्रिपरिषद् सामाजिक समितिको २०६९ वैशाख ४ को निर्णयलाई कार्यान्वयनमा छिटो ल्याउनुपर्ने आवश्यकता रहेको स्मारकको ठहर छ । सहिदको अभिलेख सङ्कलन, सहिद तथा घाइतेसँग जोडिएका ७५ जिल्लाका सङ्घ÷संस्थाबीच स्थानीय शान्ति समितिमार्फत समन्वय गर्ने जिम्मेवारी पनि मन्त्रालयले स्मारकलाई दिएको छ ।

निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा अहिलेसम्म सञ्चालनमा आउनुपर्ने स्मारक अलपत्र बन्न पुगेको महासचिव त्रिलोचन पौडेलले बताउनुभयो ।

“हाल ७१ प्रतिशत काम सम्पन्न भएकाले एक वर्षभित्रमा सबै काम सम्पन्न भई विसं २०७५ को वैशाखसम्ममा स्मारक सञ्चालनमा ल्याउने तयारीमा छौँ”–उहाँले भन्नुभयो ।

स्मारक निर्माणको लागत रु ४६ करोड ७१ लाख अनुमान गरिएको छ । स्मारक अन्तर्गत पाँचवटा सहायक पार्क निर्माणका लागि गुरुयोजना निर्माण भएको छ । सहायक पार्कको गुरुयोजना अनुसार निर्माण सक्न रु दुई अर्बको अनुमान गरिएको छ । सहायक पार्कको निर्माणकार्य आव २०७४÷७५ सुरु हुने आयोजना प्रमुख ध्रुव पौडेलले जानकारी दिनुभयो ।

मूल स्मारकमा विसं २००७ को क्रान्ति पार्क बूढानीलकण्ठ नगरपालिकाको पञ्चकन्या सामुदायिक वनमा, पञ्चायतकालका सहिदको पार्क कागेश्वरी मनोहरा नगरपालिकाको कागेश्वरी सामुदायिक वनमा, २०४६ सालको जनआन्दोलनका सहिदको पार्क बूढानीलकण्ठ नगरपालिकाको गुठ सल्लाघारी सामुदायिक वनमा, १० वर्षे जनयुद्धका सहिदको स्मृतिमा पार्क गोकर्णेश्वर नगरपालिकाको गाम्चा सामुदायिक वनमा र पत्रकार एवम् नागरिक समाजका सहिदको पार्क डुमुकी सामुदायिक वनमा निर्माण गर्न लागिएको पार्कका कोषाध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

युवालाई वन संरक्षण तथा विकासमा सरिक गराउन २०७१ देखि २०८० सालसम्मलाई वन दशकको घोषणा गरिएको छ । पार्क स्मारक निर्माण तथा व्यवस्थापन समितिको नेतृत्वमा वन संरक्षण, विकास र सदुपयोगलाई राष्ट्रिय अभियानको रुपमा सञ्चालन गर्न वन तथा भू–संरक्षण मन्त्रालयले तयार गरेको वन दशक कार्यको नेतृत्व समेत दिइएको छ ।

स्मारक निर्माणस्थल धार्मिक, पर्यटकीय, पौराणिक दृष्टिले समेत महत्वपूर्ण स्थानमा निर्माण भइरहेको छ । भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वरमा श्राद्ध, पितृतर्पण र सिदादान गरेमा घर, मामाघर र ससुरालीका तर्फका २१ कुलका पितृ तर्छन् भन्ने विश्वास छ ।

सामुदायिक वनको ६५० रोपनी क्षेत्रमा फैलिएको डाँडाबाट उपत्यकाका सबै भाग र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका पर्यटकीयस्थलको अवलोकन गर्न सकिन्छ । वन क्षेत्रको अग्लो भाग पौराणिककालमा रावणले यज्ञ गर्दा थुप्रिएको चरु हो भन्ने मान्यता रहेको प्राडा ऋषिराम पोखरेल बताउनुहुन्छ ।

“स्मारक निर्माणका क्रममा खन्दा केहीमुनि नै कालो माटो भेटिनुले यसलाई पुष्टि गरेको छ, यो पवित्रस्थलमा सहिद स्मारक निर्माण भए सहिदको आत्माले शान्ति पाउनेछ”– बेद विषयमा विद्यावारिधि गर्नुभएका पोखरेलले भन्नुभयो । “यो पवित्र भूमिमा सहिदको सम्झनामा स्मारक बने सहिदप्रति साँच्चै सम्मान हुने स्थानीयवासी राजकुमार केसीको भनाइ छ ”। पूर्णप्रसाद मिश्र/रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts