काठमाडौँ, ३ माघ । स्थानीय तह पुनःसंरचना आयोगले काठमाडौँका दुई नगरपालिकालाई अर्को दुई नगरपालिकामा गाभेको भन्दै विरोध सुरु भएको छ ।
पुरातात्विक, ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण काठमाडौँको उत्तर पूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकालाई कागेश्वरी मनहरा नगरपालिकामा मिसाइएको भन्दै यहाँका सबै दल विरोधमा उत्रिएका छन् । असन्तुष्ट स्थानीयवासीले २ नं क्षेत्रबाट निर्वाचित सांसद दीपकप्रसाद कुइँकेलको संयोजकत्वमा सबै दलका प्रतिनिधि सदस्य रहेको शङ्खरापुर नगरपालिका बचाउ सङ्घर्ष समिति गठन गरेका छन् ।
काठमाडौँमा बस्ती विकास हुनुपूर्व तीन हजार ३०० वर्षअघि राजा शङ्खदेवले सात गाउँ र हजार घरको दाहिने शङ्ख आकारको सहर बसालेकाले यसको ऐतिहासिक अस्तित्व मेटाउन नहुने सांसद कुइँकेलले बताउनुभयो ।
“शङ्खरापुर नगरपालिकामा सिन्धुपाल्चोकको सीमासँग जोडिएका पटाप र नाङ्लेभारेजस्ता स्थान छन्, यस्तो विकट भौगोलिक बनावट भएका ठाउँमा जनसङ्ख्यालाई मात्र आधार बनाएर नगरपालिका बनाइनु हुन्न”– उहाँले भन्नुभयो ।
इलाकालाई आधार मानेर भौगोलिक बनावटलाई पनि ध्यान दिँदै यसअघि नगरपालिकामा क्रियाशील सबै राजनीतिक दलको सहमतिमा शङ्खरापुर नगरपालिका नै हुनुपर्ने जिल्ला प्राविधिक सहयोग समितिमा सिफारिस गरिएकोमा आयोगले गाभेर प्रतिवेदन बुझाएपछि विरोध गर्नुपरेको स्थानीयवासीको भनाइ छ ।
नेकपा (एमाले) का २ नं क्षेत्रीय अध्यक्ष सुवर्ण श्रेष्ठ आयोगले भौगोलिक बनावटलाई वास्ता नगरी पौराणिक सहरलाई नामेट गर्न खोजेको बताउनुहुन्छ ।
“पुनरावलोकनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौँ, अब समितिका तर्फबाट प्रमुख दलका शीर्ष नेतालाई भेटी पुनरावलोकन गर्न माग गर्छौं”– उहाँले भन्नुभयो ।
यता मकवानपुर र ललितपुरसँग सीमा जोडिएको उपत्यकाको दक्षीणी भेगस्थित दक्षिणकालीका स्थानीयवासी पनि आयोगले दक्षीणकालीलाई कीर्तिपुर नगरपालिकामा मिसाएको भन्दै असन्तुष्ट बनेको सांसद राजेन्द्र केसीले बताउनुभयो ।
“भौगोलिक रुपमा विकट टुल्कु डुडेचौर र छैमलेजस्ता स्थानलाई नगरपालिका बनाई कीर्तिपुरमा केन्द्र राखिनु न्यायोचित हुँदैन, यसका विरुद्धमा सबै दलको एक मत छ, तत्काल पुनरावलोकन गर्न अनुरोध गरेका छौँ”– उहाँले भन्नुभयो ।
जिल्ला प्राविधिक सहयोग समिति काठमाडौँले आयोगमा आठदेखि ११ वटासम्म नगरपालिका सिफारिस गरेको थियो । विसं २०६८ को जनगणनाअनुसार शङ्खरापुर नगरपालिकामा २५ हजार र दक्षिणकाली नगरपालिकामा २७ हजार जनसङ्ख्या रहेको छ । रासस
No related posts.
No comments:
Post a Comment