काठमाडौँ, ८ माघ । गोरखा जिल्लाको शैक्षिक विकास र प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको ‘यदु भट्ट विद्या पुरस्कार’ आज यहाँ प्रदान गरिएको छ ।
गोरखा जिल्लाबाट प्रवेशिका परीक्षामा उत्कृष्ट हुने एक सार्वजनिक विद्यालय तथा सो परीक्षामा सर्वोत्कृट हुने एक छात्र र एक छात्रालाई सम्मानित गरिएको हो ।
बिबी ट्रस्टले प्रदान गर्दै आएको उक्त पुरस्कार जिल्लामै सर्वोत्कृष्ट हुने सरस्वती माध्यामिक विद्यालय आहालेले पाएको छ । त्यस्तै सर्वोत्कृष्ट छात्र छात्रामा पनि सोही विद्यालयका क्रमशः प्रशान्त श्रेष्ठ र छात्रा दीक्षा सुनुवारलाई प्रदान गरियो ।
कार्यक्रममा शिक्षामन्त्री धनीराम पौडेलले उक्त विद्यालय र छात्रछात्रालाई प्रमाणपत्र र जनही रु २५ हजार पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा मन्त्री पौडेलले शिक्षा क्षेत्र सुधार परियोजनाअन्तर्गत सरकारले गाउँगाउँमा विद्यालयहरू खोल्न थाले पनि अभिभावकहरू भने गुणस्तरीय शिक्षाको खोजीमा सहर वा सदरमुकाम पस्ने प्रवृत्तिमा सुधार ल्याउन सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
ट्रस्टका अध्यक्ष भवन भट्टले यसअघि रु ४५ लाख रहेको ट्रस्टको अक्षय कोषको राशि बढाएर ५० लाख पु¥याउने घोषणा गर्नुभयो । गैरआवासीय नेपाली सङ्घका उपाध्यक्षसमेत रहेका भट्टले विश्वका ७५ देशमा गैैरआवासीय नेपालीको सञ्जाल रहेको सन्दर्भ उल्लेख गर्दै नेपालको शैक्षिक विकासमा गैरआवासीय नेपालीको ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्न सकिने बताउनुभयो ।
उहाँले भूकम्पले भत्काएका करिब एक हजार विद्यालय भवनलाई सार्वजनिक–निजी साझेदारीको ढाँचाबाट निर्माण गर्न सकिने बताउनुभयो । रासस
No comments:
Post a Comment