Wednesday, January 4, 2017

अपाङ्गता भएकालाई सम्मान र पुरस्कार

बागलुङ, २० पुस । प्रविण खड्का स्मृति कोष बागलुङले आज यहाँ एक समारोहबीच अपाङ्ता भएका विद्यार्थी र स्वास्थ्यकर्मीलाई पुरस्कार एवम् सम्मान प्रदान गरिएको छ ।

पुरस्कार पाउनेमा अपाङ्गता भएका चार जना विद्यार्थी र एक जना स्वास्थ्यकर्मी छन् । उनीहरुलाई जनही रु तीन हजारका दरले पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा पर्वत बेउलीबासकी स्वास्थ्यकर्मी वष्णुकुमारी क्षेत्री तथा विद्यार्थीहरु वर्षा कँडेल, धनबहादुर थापा, टेकबहादुर शाही र सरस्वती ढुङ्गाना रहेका छन् । कोषको आठौँ सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँहरुलाई सो पुरस्कार प्रदान गरिएको हो ।

सो अवसरमा बागलुङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले समाजमा रहेका प्रतिभावान् विद्यार्थीलाई यस्ता पुरस्कारले हौसला र प्रेरणा दिएको बताउँदै अपाङ्गता भएका व्यक्ति पनि क्षमता र क्रियाशीलताका हिसाबले कोहीभन्दा कम नरहेको धारणा व्यक्त गर्नुभयो ।

कोषका अध्यक्ष काजी रोशनले यस्तो पुरस्कार र सम्मानले समाजमा उत्प्रेरणा थप्ने कार्य भएको बताउनुभयो ।

बागलुङ बजार निवासी स्व प्रविण खड्काको स्मृतिमा उहाँकी आमा धर्मकुमारी खड्का र भाइ नवीन खड्काले २०६४ सालमा कोषको स्थापना गर्नुभएको हो । कोषमा रु एक लाख ११ हजार १०१ छ । कोषबाट आउने ब्याजबाट पुरस्कार प्रदान गर्दै आएको कोषले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts