Thursday, January 19, 2017

दबाब र प्रभावमा परेर कुनै निर्णय नगर्नुस् : मन्त्री पाण्डे

काठमाडौँ, ६ माघ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले दबाब र प्रभावमा परेर कुनै पनि निर्णय नगर्न उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुख र इन्जिनियरलाई निर्देशन दिनुभएको छ ।

भवन निर्माण मापदण्ड कडाइका साथ लागू गर्नेबारे मन्त्रालयले आज यहाँ आयोजना गरेको उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुख र इन्जिनियरसँगको छलफलमा उहाँले भवन निर्माण मापदण्डलाई वैज्ञानिक र व्यवस्थित गरिनुपर्ने बताउँदै मापदण्ड लागू गर्ने सन्दर्भमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो ।

जनदबाब मात्र मुख्य विषयवस्तु भएको बताउँदै उहाँले भन्नुभयो, “नियममा लेखिएको, कानुनमा भएको विषयमात्र दबाब हो, राजनीतिक दबाब थेग्न सक्नुभएन भने देश बन्दैन ।”

“नियम पालना गराउने सरकारी निकायले नै आफ्नो भवन नक्सापास नगरी बनाइरहेका त छैनन् ?”– प्रश्न गर्दै उहाँले भन्नुभयो, “हामी अरुलाई नियम पालना गर्नुपर्छ भन्ने तर आफैँ नियम पालना नगर्ने ? नगर क्षेत्रभित्र मापदण्ड पालना नगरी संरचना निर्माण गर्ने कार्यालयलाई आजै पत्र लेख्नुस् ।”

मन्त्री पाण्डेले नगरपालिकाहरुले आफ्ना नगर क्षेत्रभित्रका सम्पूर्ण विषयको तथ्याङ्क चुस्तदुरुस्त राख्नुपर्ने बताउनुभयो । कागजको संरचना र कार्यक्षेत्रमा निर्माण भएको संरचना फरक÷फरक परेको पाइएको उल्लेख गर्दै उहाँले निरीक्षण, अनुगमन र अवलोकनलाई तीव्रता दिइनुपर्ने बताउनुभयो । नगरपालिकाका प्रमुखले कार्ययोजना बनाएर आफ्नो नगर क्षेत्रको निरीक्षण भ्रमण गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रविधिको प्रयोग गरेर छिटोभन्दा छिटो जनताको काम सम्पन्न गर्न निर्देशन दिँदै उहाँले आफ्नो नगरपालिका क्षेत्रभित्र प्रविधिको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताउनुभयो ।

नगरपालिकाका कार्यालयबाट जनताले सेवा पाउन झन्झट व्यहोर्दै आएको पाइएको भन्दै उहाँले सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो नगरपालिका कार्यालयमा ‘चुस्तता, पारदर्शीता र विनम्रता’ लाई लागू गर्न निर्देशन दिनुभयो । सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धनमा पनि ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मापदण्डमा देखिएको असमझदारी कम गर्न नीतिगत निर्णय गर्नुपर्ने भएकाले पाँच दिनभित्र सबै नगरपालिकालाई सुझाव पेस गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा सहभागी कार्यकारी प्रमुख र इन्जिनियरहरुले भवन निर्माण मापदण्डमा एकरुपता भए कार्यान्वयन गर्न सहज हुने बताएका थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts